• १३ असोज २०८१, आइतबार

म्याग्दी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटन

blog

झोलुङ्गे पुलको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), असोज २४ गते । म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा ६ लाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । म्याग्दी नदीमाथि निर्माण गरिएको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लका अनुसार मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को आर्थिक सहयोग, टीवीएसयु र पीटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोगमा ५९ लाख नौ हजार ३६५ रुपियाँ लागतमा १ सय १४ मिटर लामो पुल निर्माण गरिएको हो । उक्त पुलबाट ४ सय ६५ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ । 

सांसद गर्बुजाले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताउनुभयो । उहाँले विकासका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । आफूले स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको सांसद गर्बुजाले बताउनुभयो । पुल संरक्षणका लागि सरकारसँगै स्थानीयवासीको समेत दायित्व भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बजा, कांग्रेस म्याग्दीका सचिव भरत रकाल, वडा १ का अध्यक्ष टङ्कप्रसाद पुन, वडा ६ का अध्यक्ष पथबहादुर रोकालगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवत–जावत, सामान ढुवानीसंगै उनीहरूको दैनिकी जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।