सिराज खान
नेपालगन्ज, असोज २४ गते । पश्चिम नेपालको प्रमुख सीमानाका नेपालगन्जस्थित जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।चाडपर्व मनाउन भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढ्दै गएपछि उनीहरूको सहयोग र सहजताका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
सो सहायता कक्षको एक समारोहबिच प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले शुभारम्भ गर्नुभयो । अहिले चाडपर्व मनाउन भारतबाट दैनिक ठुलो सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेकाले सीमामा उनीहरूलाई समस्या नहोस् र सुरक्षित रूपमा घरसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।
एआइजी ज्ञवालीले भारतबाट आउने नेपालीलाई विभिन्न बहानामा ठग्ने, लुट्ने गरिएको गुनासो समेत सुनिने गरिएकाले रोक्न सहायता कक्षले सहयोग गर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जमुनाहद्वारा यात्रुको सहायताका लागि संयुक्त रूपमा सञ्चालनमा ल्याइएको सहायता कक्ष सञ्चालनमा आएपछि यात्रुलाई गन्तव्यसम्म पुग्न सहज हुने विश्वास गरिएको छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठोर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदी, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसी र इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ सई मीनबहादुर विष्टले चाडपर्वमा जनताको सुरक्षाका लागि प्रहरीले विभिन्न योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
बाँकेमा सुरक्षाकर्मीको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए–नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याइ बाटोमै अलपत्र पार्नेजस्ता कामको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसका साथै चाडपर्वका समयमा यात्रुहरूले मादक पदार्थ सेवनगरी झैझगडा गर्न नहुने र यात्राको क्रममा चालक, सहचालकलले पनि यात्रुलाई सहजरूपमा गन्तव्यमा पुगाउनुपर्ने व्यवस्था मिलाइएको पनि प्रहरीले जनाएको छ ।
एआइजीद्वारा सीमानाका निरीक्षण
यात्रु सहायता कक्षको शुभारम्भका लागि जमुनाह नाकामा पुग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले नाकाको सुरक्षा व्यवस्थालगायत विभिन्न पक्षको जानकारी लिनुका साथै दशगजा नजिक पुगेर निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा उहाँले सीमा पारी रुपैडिहाका भारतीय सुरक्षा अधिकारीसँग नाकाको सुरक्षा अवस्था र दुवै देशका यात्रुको सहज आवागमनका लागि छलफल पनि गर्नुभएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
सो कार्यालयका अनुसार नाकामा रहेको भारतीय प्रहरी र एसएसबीका अधिकारीले नाकामा गरिएको सुरक्षा व्यवस्थाबारे जानकारी गराउँदै दुवै देशका नाकामा रहेका सुरक्षा अधिकारीबिच निकै समन्वयात्मक सम्बन्ध रहेको जनाएका थिए । नेपाली सुरक्षा अधिकारीले पनि आवागमन सहज बनाउन दुबैतर्फबाट सकारात्मक पहल भइरहेको जानकारी गराउनुभयो ।