गोविन्द शर्मा
बाँके, असोज २४ गते । इजरायलमा प्यालेष्टिनी हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा नेपालगञ्जमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेको आयोजनामा बीपी चोकमा भएको कार्यक्रममा विद्यार्थी तथा नागरिक समाजका अगुवा, उद्योगी–व्यवसायीले ज्यान गुमाउने विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विश्वशान्तिको कामना गर्नुभयो ।
अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले विदेशी भूमिमा सीप सिकेर स्वदेश फर्केर केही गर्ने सोच बनाएका नेपाली विद्यार्थीले त्यहीं जीवन गुमाउनु समग्र नेपालीका लागि दुःखद भएको बताउनुभयो । स्वदेशमै रोजगारीको सम्भावना न्यून भएका कारण नेपालीले बाह्य मुलुकमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारले तत्काल ज्यान गुमाएका विद्यार्थीको शव स्वदेश फर्काएर परिवारको जिम्मा लगाउन प्रभावकारी पहलकदमी लिनुपर्छ ।’ इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थी कृषि अध्ययनका लागि इजरायल पुगेका थिए ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी हमासको आक्रमणमा परेका थिए । सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फर्काउन र मृतकको शव तत्काल स्वदेश फर्काउन पहल गरिरहेको जनाएको छ ।