• १ जेठ २०८२, बुधबार

चाडपर्व आएपछि जीर्ण सडक मर्मत गरिँदै

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असोज २४ गते । यो वर्षको चाडपर्व नजिकिएसँगै सिन्धुली जिल्लाका स्थानीय तहले बर्सातका बेला बाढीपहिरोले जीर्ण बनेका ग्रामीण सडकको मर्मत सुरु गरेका छन् । दसैँ, तिहारलगायतका चाडपर्वमा मानिसको आवतजावत सहज बनाउने उद्देश्यले भत्किएका र जीर्ण सडक मर्मत सुरु गरेको स्थानीय तहले जनाएका हुन् । 

तीनपाटन गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द राउतले आफ्नो वडाका सानाठुला सडकका ५७ ठाउँमा मर्मत भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै सडक गाउँपालिकाको बजेटबाट मर्मत कार्य भइरहेका हुन् । “आवश्यकता अनुसार कतै खाल्टाखुल्टी पुर्ने, कतै ग्राभेल हाल्ने र सडकमा थुप्रिएको पहिरो पन्छाउनेलगायतका काम भइरहेको छ । ती सडक मर्मतका लागि गाउँपालिकाले मेसिन (डोजर तथा एक्साभेटर) दिएको छ,” उहाँले भन्नुभयो । 

दसैँसम्ममा गाउँपालिकाभित्रका मुख्य र सहायक सडकमा सहज यातायात सञ्चालनको अवस्था बनाउने उद्देश्यले मर्मत सुरु गरिएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । यो गाउँपालिकाका ११ वटै वडामा पर्ने मुख्य सडक र भित्री सडक मर्मतका लागि ८८ लाख रुपियाँ बजेट छुट्याएको र धमाधम मर्मत भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “एउटै वडामा २०-२२ वटा सडक छन् । वर्षाले अवरोध नगरे दसैँसम्ममा टोल टोलमा यातायातका साधन पु-याउने योजनासहित काम गरिरहेका छौँ ।” गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले सबै वडाका सडक धमाधम मर्मत भइरहेको जानकारी दिनुभयो । “सडक मर्मतका लागि वडा कार्यालयलाई जिम्मेवारी दिएका छौँ । सडक मर्मत गरी प्राविधिकले इस्टिमेट बिल पेस गरेपछि सोही अनुसार भुक्तानी दिने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो । 

सिन्धुली जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिकालगायतका नौ वटै स्थानीय तहले चाडपर्वलाई लक्ष्य गरी सडक धमाधम मर्मत गरिरहेको जनाएका छन् । दसैँ तिहारलाई लक्ष्य गरी सडक मर्मत गरिएपछि फिक्कल गाउँपालिका–६, रत्नावतीमा पहिलो पटक बस पुगेसँगै स्थानीयमा खुसियाली छाएको छ । कच्ची सडक सञ्चालन भएको लामो समयपछि दुई दिनअघि रत्नावतीमा पहिलो पटक यात्रुवाहक बस पुगेको स्थानीयले जनाएका छन् । दुर्गम मानिने वडामा बस पुगेपछि फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पहिलो पटक बस पुगेसँगै त्यसलाई निरन्तरता दिन ध्यान दिने बताउनुभयो ।