• १३ मंसिर २०८१, बिहिबार

खानपान सिकाउने पुस्तिका निस्कँदै

blog

सुर्खेत समाचारदाता

सुर्खेत, असोज २४ गते । कर्णालीवासीलाई रैथाने बालीका परिकार बनाएर खाने तरिका सिकाउने योजना कर्णाली प्रदेश सरकारको छ । कर्णालीका बालबालिकामा पौष्टिक तत्त्वको कमीका कारण कुपोषण बढेपछि यस्तो उपाय निकालिएको हो । 

कर्णाली प्रदेश योजना आयोगले असल खानपानसम्बन्धी सचेतना पुस्तिका प्रकाशन गरेर परिकार बनाउने र खाने तरिका सिकाउने भएको छ । कर्णालीमा खाद्यान्न अभाव हुने गरे पनि स्थानीय उत्पादनका परिकारको प्रयोगमा कमी छ । पुस्तिकामा पोषणको परिचय, कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न, त्यसमा पाइने पौष्टिक तत्त्व, उपभोग गर्ने तरिका, रैथाने बाली तथा पशुपन्छी, खाद्य सुरक्षाको अवस्था, प्राङ्गारिक कृषि र मानव स्वास्थ्य, असल खानपान प्रयोग गर्ने तरिका, खाने शैली, बनाउने उपाय जस्ता विषयमा जानकारी दिइएको छ । 

मुख्यमन्त्री राजकुमार शर्माले पुस्तिकाबाट असल खानपान सिक्न सहयोग पुग्ने बताउनुभयो । उहाँले कर्णालीमा खाद्यान्न नै अपुग हुने र भएको खाद्यान्न पनि परिकार बनाउन नजान्दा कर्णालीमा कुपोषण बढेको चर्चा गर्दै पुस्तिकाले परिकार बनाउने र खानपान शैली सिकाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा खान नपाएर, खाना नपुगेर र खान नजानेर समस्या भोग्नु परेको छ । रैथाने अन्नका परिकार बनाएर खान सिकाउन आवश्यक छ ।”

प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्णालीवासीलाई सर्वप्रथम असल खानपान सिकाउन आवश्यक ठानेर पुस्तिका तयार गरिएको बताउनुभयो । उहाँले कर्णालीमा पौष्टिक तत्त्वले भरिएका स्थानीय उत्पादनको परिकार बनाउन सिकाएर स्वस्थ बनाउने योजना आफ्नो रहेको बताउनुभयो । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार कर्णालीमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन ३६ प्रतिशत, ख्याउटेपन १८ प्रतिशत, कम तौल चार प्रतिशत र रक्तअल्पता ४० प्रतिशत रहेको छ । कुपोषण कम गर्न असल खानपान पुस्तिकाभित्रका सामग्रीले खाना खान सिकाउने अपेक्षा गरिएको छ । 

कर्णालीमा पोषण बढाउन बहुक्षेत्रीय पोषण योजना लागु गरिएको छ । कर्णालीका सुर्खेतबाहेक नौ जिल्लामा सघन रूपमा र सुर्खेतमा आंशिक रूपमा सो कार्यक्रम सञ्चालन गरी पोषण बढाउने योजना छ ।