कविराज घिमिरे
हिले, असोज २४ गते । सिजन अगावै एभोकाडो बजारमा पाउन थालेपछि धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन किसानसँग आग्रह गरेको छ ।
सुरुमा राम्रो मूल्य पाउने आसामा कृषकले कलिलैमा एभोकाडो टिपेर बिक्री वितरण गर्न थालेपछि एभोकाडोको गुणस्तरमा प्रश्न उठ्ने भन्दै किसानलाई हतार गरेर नटिप्न आग्रह गरेको हो । नगरपालिकाले सार्वजनिक सूचनामार्फत कृषकलाई जानकारी गराएको हो । कलिलो र कम गुणस्तरको फल टिपेर बिक्री वितरण गरेको उपभोक्ताबाट गुनासो आएपछि यो अभियान सुरु गरेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सार्वजनिक सूचनासँगै एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे किसानलाई जानकारी दिइएको छ । पालिकाभित्र राम्रो उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडोको राजधानी घोषणा गरेको थियो । फलको नामबाट उत्सव मनाएको पालिकाले यसअघि यसको सम्भाव्यता अध्ययन गरी किसानको आर्थिक उपार्जनमा टेवा पुग्ने यकिन गरेरै कार्यक्रम घोषणा गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिनुभयो ।
धनकुटामा हाल ४ हजार ९ सय २६ परिवारले १२ हजार ९९ सय रोपनीमा खेती गर्दै आएका एभोकाडोको बारेमा अध्ययन गरी राख्नुभएका कृषि अभियानता जीवनकुमार राई बताउनुहुन्छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो । धनकुटाका नगरक्षेत्रका अधिकांश घरमा एभोकाडो लगाइएको छ ।