• १४ मंसिर २०८१, शुक्रबार

दुई अर्ब लगानीमा फ्रेन्च फ्राइज उद्योग

blog

बुटवल समाचारदाता

बुटवल, असोज २४ गते । दुई अर्ब रुपियाँको लगानीमा फस्ट च्वाइस फुड्स प्रालिले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । 

फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेको जनाएको छ । उद्योगले नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको हो । 

उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माण र मेसिन जडानको काम सम्पन्न भइसकेको र परीक्षण उत्पादनको सफलतापछि अहिले व्यावसायिक रूपमा उत्पादन सुरु भएको जानकारी दिनुभयो । 

सञ्चालक पौडेलका अनुसार आलुबाट तयार हुने उद्योगको मुख्य उत्पादन फ्रेन्च फ्राइज हुने छ भने त्योसँगै आलु टिक्की, आलु बर्गर, आलु चिप्स, आलु समोसा, आलु पकौडालगायत आलुकै करिब एक दर्जन परिकार उत्पादन हुने छ । उद्योगले प्रतिघण्टा दुई टन आलुका परिकार उत्पादन गर्ने र दैनिक १५ घण्टा उद्योग चलाएर दैनिक ३० टन आलुका परिकार उत्पादन गर्ने योजना रहेको पौडेलले बताउनुभयो । 

उहाँले उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको अवस्थामा एक सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने जानकारी दिनुभयो । उद्योगका लागि आवश्यक मेसिन भारत, जर्मनी र टर्कीबाट ल्याइएको उहाँले बताउनुभयो । 

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको आलुका लागि गत वर्ष दुई सय टन बिउ ल्याएर रुपन्देही, नवलपरासी, चितवन, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, बर्दिया, कैलाली, दाङ र पाल्पामा परीक्षण खेती गरिएको छ ।  पौडेलका अनुसार फ्रेन्च फ्राइजको माग नेपाली बजारमा धेरै नै रहेकाले बजारको समस्या छैन भने उत्पादन नहुँदै विदेशबाट पनि फ्रेन्च फ्राइजको माग आउन थालेको छ । 

दैनिक १० घण्टा उद्योग सञ्चालन हुँदा वार्षिक ४० हजार टन आलु आवश्यक पर्ने भएकाले उद्योगले सोही अनुसार उत्पादनका लागि किसानलाई समेत प्रोत्साहन गरिरहेको जनाएको छ ।