बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज २३ गते । यो वर्षको चाडपर्व नजिकिएसँगै सिन्धुली जिल्लामा स्थानीय तहले वर्षादको मौसममा बाढीपहिरोले जीर्ण बनेका ग्रामीण सडकहरूको मर्मत कार्य सुरु गरेका छन् ।
दसैँ, तिहार लगायतका चाडपर्वमा मानिसको आवतजावत सहज बनाउने उद्देश्यले वर्षादको मौसममा भत्किएका र जीर्ण सडकहरू मर्मत सुरु गरेको स्थानीय तहले जनाएका छन् । तीनपाटन गाउँपालिका –१ का अध्यक्ष गोबिन्द राउत उक्त वडामा वर्षादको मौसममा भत्किएका साना ठुला गरी ५७ वटा सडकहरू मर्मत भइरहेको बताउनुभयो ।
उहाँका अनुसार ती सबै सडकहरू पालिकाको बजेटबाट मर्मत कार्य भइरहेका हुन् । ‘‘आवश्यकता अनुसार कतै खाल्टाखुल्टी पुर्ने, कतै ग्राभेल हाल्ने र सडकमा थुप्रिएको पहिरो पन्छाउने लगायतका काम भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘ती सडक मर्मतका लागि पालिकाले मेसीन (जेसिबी तथा स्काभेटर) हायर गरेको छ, । जुन मेसिनले घण्टाको १५ सय रुपियाँभन्दा कममा काम गर्छ, उसैलाई काम दिएर सडक मर्मत गरिहेका छौँ ।’’
दसैँसम्ममा गाउँपालिका भित्रका मुख्य र सहायक सडक सबैमा सहज यातायात सुचारु गर्ने उद्देश्यले मर्मत कार्य सुरु गरिएको तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । गाउँपालिकाका ११ वटै वडामा पर्ने मुख्य सडक र भित्री सडक मर्मतका लागि ८८ लाख रुपियाँ बजेट छुट्याएको र धमाधम मर्मत कार्य भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एउटै वडामा २०/२२ वटा सडक छ । यो बिचमा वर्षाले अवरोध नगरे दसैँसम्ममा टोलटोलमा यातायातका साधन पु¥याउने योजनासहित काम गरिरहेका छौ ।’’ गोलन्जोर गाउँपालिका अध्यक्ष शङ्कर बराल पनि उक्त पालिकाका सात वटै वडामा रहेका सहायक सडक धमाधम मर्मत भइरहेको बताउनुहुन्छ ।
‘‘सडक मर्मतका लागि वडा कार्यालयलाई जिम्मेवारी दिएका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘सडक मर्मत गरी प्राविधिकले स्टिमेट बिल पेस गरेपछि सोही अनुसार भुक्तानी दिने व्यवस्था मिलाएका छौँ ।’’ जिल्लामा रहेका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका लगायतका नौ वटै स्थानीय तहले चाडपर्वलाई लक्षित गरी पालिकाभित्रका ग्रामीण सडकहरू धमाधम मर्मत गरिरहेको जनाएका छन् ।
दसैँ, तिहारलाई लक्षित गरी सडक मर्मत गरिएपछि फिक्कल गाउँपालिका–६ रत्नावतीमा पहिलो पटक बस पुगेसँगै स्थानीयमा खुसीयाली छाएको छ । कच्ची सडक सञ्चालन भएको लामो समयपछि दुई दिनअघि रत्नावतीमा बस पहिलो पटक पुगेको स्थानीयले जनाएका छन् । आफ्नै आँगनमा बा ४ ख ३०८८ नम्बरको मध्यपहाडी डिलक्स बस पहिलो पटक पुगेपछि स्थानीयले हर्षित हुँदै बाजागाजासहित भव्य स्वागत गरेको थियो । पालिकाकै दुर्गम मानिने वडामा बस पुगेपछि फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले पहिलो पटक बस पुगेसँगै त्यसलाई निरन्तरता दिनका लागि ध्यान दिने बताउनुभयो ।
सडक निर्माण गाउँपालिकामा धेरै भइसकेकाले अबका दिनमा अहिलेसम्म निर्माण भएका सडकहरूको स्तरउन्नती गर्ने तथा नागरिकलाई उत्पादन र आयआर्जसँग जोड्ने योजना तर्फ लागेको गाउँपालिकाले जनाएको छ ।