धर्बेन्द्र झा
धनुषा, असोज २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ गते बिहीबारदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ ।
प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन प्रेस चौतारी मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा मधेश प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले पहिलो पटक हुन लागेको मधेश प्रदेशको अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने जानकारी दिनुभयो ।
उहाँले प्रदेश अधिवेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहने बताउनुभयो । अधिवेशनको उद्घाटनसत्रमा ७ हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि १०५ जना स्वमसेवक परिचालन गरिने जानकारी दिनुभयो ।
इन्चार्ज भट्टराईले सिङ्गो नेपालको प्रतिनिधित्व हुनेगरी प्रतिनिधिको चयन गरिएको जसमा महिला, दलित, मुसलिम र युवाहरूको आरक्षणअनुसार प्रतिनिधि चायन गरिएको बताउनुभयो । ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ नारा रहेको प्रदेश अधिवेशनले मधेश प्रदेशमा एमालेको शक्ति बढाउने बताउनुभयो ।
पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी दिँदै प्रदेश अध्यक्ष राम अवतार यादवले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटनसत्रमा सहभागी हुन आउने प्रतिनिधि र आम कार्यकर्ताको व्यवस्थापनका लागि विभिन्न किसिमको समितिहरू निर्माण गरिएको र सो समितिले काम गरिरहेको बताउनुभयो ।
प्रदेश अधिवेशनमा लाग्ने खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र त्यसको लागि प्रत्येक प्रतिनिधिबाट २ हजार प्रवेश शुल्क र एमालेका प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरू वाट १०–१० हजार सहयोग लिइने बताउनुभयो । उहाँले प्रतिनिधिहरूको लागि जनकपुरधामको २२ वटा होटल बुक गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा एमाले धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुली महतो, एमालेका पोलिटब्युरो सदस्य सुमन प्याकुरेलसहित नेताहरूको उपस्थिति थियो ।