काठमाडौं, असोज २३ गते । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिइकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुदै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल घटना संवेदनशील भएकाले समय समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।
उहाँले स्वदेश फर्किन चाहने नेपालीहरूलाई आवश्यक प्रबन्ध मिलाइ चाँडोभन्दा चाँडो ल्याउन आग्रह गर्नुभयो । उहाँले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरूलाई चाँडो स्वदेश फर्काउन आग्रह गर्नुभयो ।
‘‘खास गरेर राष्ट्र नै शोकमा डुबेको बेलामा यो जुन असोज २० गतेको दिनको जुन आक्रमणबाट इजरायलमा रहेका नेपालीहरूको दुःखको समाचार सुन्नुपरेको छ । यो आकस्मिक रूपमा भएको कारणले गर्दा सरकारले सरकारको तर्फबाट अग्रसरता देखाउनुभएको छ, यो सरकारले गर्नुपर्ने कार्यहरू, यस्तो सङ्कट पर्दा ती संरचना र निकायहरूलाई परिचालन गर्नुपर्नेदेखि लिएर सबै बसेर समन्वय गर्ने काम भइरहेको छ । इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । युद्ध नै सुरु भइसकेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीले भनिसक्नुभएको छ ।,’’ सांसद सिंहले भन्नुभयो, ‘‘नेपाल नै फर्किन चाहनेहरूलाई पनि त्यहाँको दूतावासलाई अलर्टनेसलाई राखेर काकम गरिरहनुभएको छ । इजरायली सरकार र नेपालमा रहेका राजदूतसँग छलफल जुन गरिरहनुभएको छ । संवेदनशील भएको कारणले समय समयमा जानकारी गराएको खण्डमा राम्रो हुन्छ । तेलेवी एयरपोर्ट अप्रेसनमा छ भन्नुभएको छ, त्यहाँबाट फर्किएर आउने नेपालीलाई चाँडो ल्याइयोस् । हमासले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ । यसमा सचेत हुनुपर्छ । यो विषयमा सरकारले के सोचिरहेको छ ?’’
नेता सिंहले इजरायलस्थित दूतावासलाई थप निर्देशन दिनुपर्ने बताउनुभयो ।