छविलाल पाण्डे
बुटवल, असोज २३ गते । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा अर्याल ८७ मतान्तरले निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्याशी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
सङ्घको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकोमा १ हजार ५०६ मत खसेको थियो । सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान मत परिणाम सार्वजनिक भएको थियो ।
सङ्घको वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा टङ्कप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित हुनुभयो ।
त्यस्तै उद्योग उपाध्यक्ष पदमा ७७८ मतसहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो । महासचिवमा ७६० मतसहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा ८०९ मतसहित वसन्तप्रसाद ढकाल, सचिव पदमा ७२३ मतसहित प्रतीक पोखरेल र सहकोषाध्यक्ष पदमा ८३० मतसहित धनकुमारी खनाल (सविता) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी एक एशोसियट सदस्य पदमा ७५१ मतसहित बालकृष्ण पौडेल निर्वाचित हुनुभएको छ । चार उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाईँ, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित हुनुभएको छ ।
त्यस्तै सात खुल्ला सदस्यमा विष्णु (कमला) घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्यमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।