• १४ मंसिर २०८१, शुक्रबार

एप्पलको सोना मन्सुली चामल बिक्रीवितरणमा प्रतिबन्ध

blog

बोमलाल गिरी

नवलपुर, असोज २३ गते । नवलपुरमा एप्पलको सोना मन्सुली चामलमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । 

पवनपुत्र खाद्य उद्योग प्रालि वीरगन्जको एप्पल सोना मन्सुली चामलमा अखाद्य मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो । मध्यबिन्दु नगरपालिकाको आरुङखोला कोटथरमा आइतबार गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य वस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा सोमबार अनुगमन गरिएको थियो । समीक्षा इन्टरप्राइजेजको गोदाममा रहेका बोराको चामलमा पनि त्यस्तै अखाद्य वस्तु फेला परेपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार चामलमा मिसावट गरिएको वस्तुको दाना बोराको अन्य चामलभन्दा सेतो र आकारमा ठुलो देखिन्छ भने चपाउँदा प्लास्टिक जसरी तन्किने र पानीमा हाल्दा तैरिने गरेको छ । “हिजो कोटथरमा भेटिएको चामलमा जस्तो किसिमको अखाद्य वस्तु भेटिएको थियो, कावासोतीको गोदारमा राखिएका चामलको अनुगमन गर्दा पनि त्यस्तै वस्तु भेटियो,” कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “त्यसैले यो चामल नखान र बिक्रीवितरणमा रोक लगाउन निर्देशन दिएका छौँ ।”

समीक्षा इन्टरप्राइजेजको गोदाममा ५७७ बोरा चामल भेटिएको छ । चाडबाडलक्षित गरी जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुगमनलाई तीव्रता दिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, सञ्चारकर्मीसहितको टोलीले सोमबार मात्रै कावासोतीका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ । टोलीले हिमशिखर इन्टरप्राइजेज, प्रकृति किराना पसल, गणेश सिर्जना जनरल स्टोर, करण माछा सप्लायर्स, रितेश एन्ड रिजन नेवाली खाजा घर, ओम मिष्ठान्न भण्डार, एन्जिला कोल्ड स्टोर, सुलभ किराना एन्ड कोल्ड स्टोर, गण्डकी मिट सप्लायर्सलगायत पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री अत्यधिक भेटिएको र ती सामान बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । डेन्टल क्लिनिक पनि अवैध अनुगमनका क्रममा क्लिनिकसमेत अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । कावासोतीमा रहेको पोखरा डेन्टल क्लिनिक अवैध रूपमा सञ्चालन भएको पाइएपछि बन्द गराइएको छ ।