• २८ वैशाख २०८१, शुक्रबार

राष्ट्र बैंकको निर्देशनले उद्योगी व्यवसायीको मनोबल बढ्ने आशा : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

काठमाडौं, असोज २२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भए पनि मनोबल बढ्ने आशा जगाएको बताउनुभएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घले आइतबार आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत् भेला–२०८० कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरुलाई ढिलै भए पनि बुझ्ने कोशिस गरेको बताउनुभयो ।

अध्यक्ष ढकालले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरेपनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने जानकारी दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरुको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नेपालको जनसङ्ख्याको १ प्रतिशत मानिस पुँजीबजारमा आबद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने जिकिर गर्नुभयो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय भएकाले उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको बताउनु भयो। उहाँले सरकारले घरजग्गा व्यवसायीहरुलाई हेलचेक्राइँ गर्ने र प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्नुपर्छ । यो व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय हो । जसले विश्वलाई सहरीकरण गर्ने काम गर्छ । यसले नेपाललाई शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको छ । यसलाई जुन किसिमले हेलचेक्राँई गर्ने प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम उपयुक्त भएन ।,’’ उहाँले भन्नुभयो,  ‘‘घरजग्गा व्यवसायलाई सरकारले हेर्ने देष्टिकोण परिवर्तन गर्नुपर्छ । घरजग्गा व्यवसायलाई व्यक्तिगत कर्जामा लोन टु भ्यालु ५० प्रतिशत र शेयर कारोबारमा व्यक्तिगत १५ र संस्थागत २० करोड बनाएको छ । राष्ट्र बैंकले जति पनि गरिरहेको छ त्यो खुद्रे हिसाबले गरिरहेको छ । उद्योग र घरजग्गा व्यवसायीहरुको लागि हकबन्दी लागू गर्नु हुँदैन ।’’

त्यस्तै, नेपाल जग्गा तथा आवास विकास महासङ्घका पूर्वअध्यक्ष मीनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताउनुभयो । उहाँले अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले यस क्षेत्रलाई २०८४ सम्ममा अनिवार्य प्रत्यक्ष लगानीका लागि यति प्रतिशत लगानी गर भन्ने निर्देशन आउनुपर्ने बताउनुभयो ।

‘‘अहिले यस क्षेत्रमा प्रत्यक्ष ३ प्रतिशतको हाराहारीमा लगानी भएको पाइन्छ । यसअघि राष्ट्र बैंकले रियल इस्टेट क्षेत्रमा १० प्रतिशत र हाउजिङमा १५ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था गरेको थियो तर त्यो लागू छ वा छैन थाहा छैन । अब अर्थतन्त्र चलायमान बनाउने हो भने सरकारले २०८४ सम्ममा रियल इस्टेट क्षेत्रमा ५ प्रतिशत र हाउजिङमा ५ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन जारी गर्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘सरकारले तोकेको अवधिभन्दा लगानी बढी भएको अवस्थामा नियामक निकायले कडाइ गर्नसक्छ । सरकारले ३० प्रतिशतको अनुपातलाई ५० प्रतिशत पुर्‍याएको छ । त्यसमा घर कर्जामा ६० प्रतिशत पुर्‍याइएको छ । राष्ट्र बैंकले कारोबार बढाउन ७० प्रतिशत हुनुपर्ने माग हो । उक्त व्यवस्था नहुँदासम्म कारोबारले गति लिनेछैन ।’’

उहाँले सरकारले प्रत्यक्ष लगानीको निर्देशन दिने हो भने बजारमा १० खर्ब रकम आउने र अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभयो । उहाँले अहिले घरजग्गा बिक्री नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको निर्देशनले कर्जाको अनुपात बढाएको तर उक्त व्यवस्थाले कारोबारमा कुनै प्रभाव नपर्ने भनाइ व्यक्त गर्नुभयो ।