• ३ असार २०८१, सोमबार

गहुँका लागि मल व्यवस्थापन गरिँदै

blog

काठमाडौँ, असोज २२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय गहुँ तथा नगदेबालीका लागि मल व्यवस्थापनमा लागिसकेको छ । यस पटक धान रोपाइँको सिजनमा मल अभाव हुन नदिएको मन्त्रालयले गहुँ तथा नगदेबालीमा पनि अभाव हुन नदिने गरी तयारी थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले बताउनुभयो । 

धान रोपाइँको सिजनमा बर्सेनि मलको हाहाकार झेलिरहेको कृषि मन्त्रालयले यस पटक सुरुदेखि नै व्यवस्थापनमा ध्यान दिएका कारण मल अभाव हुन दिएन । कृषि सामग्रीका प्रमुख पोखरेलले भन्नुभयो, “मुख्य कुरा व्यवस्थापन हो, समयमा टेन्डर गर्ने, समयमा खुलाउने गरेपछि समस्या नहुँदो रहेछ ।”

कृषि सामग्री कम्पनी लिमिटेडले समयमा टेन्डर गर्‍यो र टेन्डर गरेपछि मल आयो कि आएन, कहाँ अड्किएको छ, कुनै समस्या छ जस्ता कुरामा ध्यान दिएपछि टेन्डर गरेको मल आउन कहिले नरोकिएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारबाट यस पटक मल नियमित आपूर्ति भयो र यहाँ वितरण प्रणाली पनि व्यवस्थित गरेपछि खासै समस्या नदेखिएको उहाँले बताउनुभयो ।

मल खरिद गर्न रकमको व्यवस्थादेखि लिएर टेन्डरलगायतका विषयमा पनि सरकारले पूर्ण सहयोग गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषिमन्त्री डा. वेदुराम भुसालले आफैँ चासो लिइरहनुभएको कारण पनि आफूहरूलाई काम गर्न सजिलो भएको प्रमुख पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले नियमित साथ र सहयोग दिएका कारण मलको हाहाकारको सामना गर्नु परेन ।”

लगभग धानका लागि मलको काम सकिएको छ, अब गहुँ तथा नगदेबालीका लागि चाहिने मल व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो । अहिले पनि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मल मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका अनुसार ७२ हजार ८६१ मेट्रिक टन मल मौज्दात रहेको छ । युरिया ३५ हजार ६७६, डिएपी ३२ हजार ६०७ मेट्रिक टन, पोटास चार हजार ५७७ मेट्रिक टन मौज्दात रहेको छ । त्यसबाहेक साल्ट ट्रेडिङ कम्पनी लिमिटेडतर्फ ३० हजार मेट्रिक टन मल भारतको कोलकाता बन्दरगाहबाट र २४ हजार मेट्रिक टन मल भारतको विशाखापट्नमबाट नेपालका लागि हिँडिसकेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडका तर्फबाट २५ हजार मेट्रिक टन डिएपी कोलकाता आइसकेको र त्यसलाई प्याकेजिङ गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । 

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा असोज १४ सम्म ९५ हजार ४०८ मेट्रिक टन मल बिक्री भइसकेको छ । त्यसमध्ये ५५ हजार ३३१ मेट्रिक टन युरिया, ३६ हजार ९८७ मेट्रिक टन डिएपी र तीन हजार ८९ मेट्रिक टन पोटास बिक्री भएका छन् ।