• १८ वैशाख २०८१, मङ्गलबार

इजरायलमा हमासको आक्रमण

दस नेपालीको मृत्यु, एक बेपत्ता

blog

इजरायलमा हमासले आक्रमण गरेको जानकारी दिने साइरन बजेपछि हताहतीबाट बच्न सुरक्षित बासस्थानतिर दौडँदै महिला । तस्बिर : न्युयोर्क टाइम्स

काठमाडौँ, असोज २२ गते । नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको छ । साथै एक जना सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् । 

नेपालका तीन विश्वविद्यालयबाट अध्ययनका लागि २६५ जना इजरायलमा गएका थिए । तीमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना थिए । 

सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत १७ जनामध्ये १२ जना सम्पर्कविहीन, तीन जना उपचाररत र दुई जना सकुशल रहेको जानकारी प्राप्त भएको रजिस्ट्रार प्रा. यज्ञराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले भने उक्त  विश्वविद्यालयका सबै सकुशल रहेको र स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिनुभयो । शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी इस्लामिक समूह हमासले आक्रमण गर्दा उक्त घटना भएको हो ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० जनाको मृत्यु भएको र  एक जना सम्पर्कविहीन भएको बताउनुभयो । अरू चार जना अस्पतालमा उपचारत भए पनि खतरामुक्त भएको उहाँले बताउनुभयो । राजदूत रिजालका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन गर्न गएका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको किबुज अलुमिन भन्ने स्थानमा हताहत भएको बताउनुभयो । रिजालले भन्नुभयो, “अरू चार जना अस्पतालमा भर्ना हुनुभएको छ । जसमा एक जना डिस्चार्ज भइसक्नुभयो । अरू उपचारत विद्यार्थी खतरामुक्त हुनु हुन्छ ।”

इजरायलबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा कैलालीका घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिकाका गणेशकुमार नेपाली, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकामका दिपेशराज विष्ट, धनुषा सपहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटी लामिखालका पदम थापा, सल्यान सारदा नगरपालिकका प्रवेश भण्डारी, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी छन् । कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशी सम्पर्कविहीन भएको राजदूत रिजालले बताउनुभयो । सल्यान नगरपालिकाका विधान सेजुवाल, दाङ दङ्गीशरणका प्रवीण डाँगी, कैलाली टीकापुरका मनबहादुर चौधरी र गोरखा नगरपालिकाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ । 

 शव छिटोभन्दा छिटो नेपाल फर्काउन प्रयास भइरहेको राजदूत रिजालले बताउनुभयो । “हामीले भर्खर मात्रै सबैको पहिचान ग¥यौँ । घाइतेको उपचार भइराखेको छ,” उहाँले भन्नुभयो, “शव तत्काल नेपाल फर्काउने व्यवस्था गर्दै छौँ । सम्पर्कविहीनको खोजी कार्य तीव्र पारिएको छ ।” तर परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले मृतकको विवरण सोमबार मात्रै सार्वजनिक गरिने बताउनुभयो ।

इजरायलमा केयर गिभरका रूपमा कार्यरत सुनिता राई कन्दङ्वाले शनिबार भयावह स्थिति भए पनि आइतबार शान्त रहेको बताउनुभयो । “शनिबार एकदमै तनावग्रस्त स्थिति थियो । पूरै मकै भुटे जस्तै आवाज आउँथ्यो ।  अब बाँचिन्न होला भन्ने स्थितिसम्म भयो । आइतबार शान्त छ । कहाँ के भयो ? हामी अपडेट लिइराखेका छौँ । केयर गिभरलाई केही भएको छैन, विद्यार्थी हताहत भएको भन्ने छ ।” पछिल्लो तीन वर्ष यता यति ठुलो भयावह स्थितिमा गुज्रिनुपरेको राईले अनुभव सुनाउनुभयो । 

संसद्मा जानकारी 

प्रतिनिधि सभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलका भएको आक्रमणमा परी १२ जना नेपाली हराइरहेको जानकारी गराउनुभएको थियो । 

बैठकमा सांसदहरूले नेपालीलाई फिर्ता ल्याउन पहल हुनुपर्ने माग गर्नुभएको थियो । एमाले प्रमुख सचेतक पदम गिरीले नेपालीको उद्धारका लागि प्रधानमन्त्रीबाटै इजरायलका जिम्मेवार निकायसँग संवाद गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसद्मा मन्त्रीले घटनाको विवरण दिएर मात्रै पुग्दैन । 

प्रधानमन्त्री प्रचण्डले इजरायलको जिम्मेवार निकायसँग संवाद गर्नु पर्छ ।” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गर्दै नेपालीको तत्काल उद्धार गर्न आग्रह गर्नुभएको छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली हनान गोडरसँग सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिनुभएको थियो । यस्तै परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग इजरायलमा भएको आक्रमण र नेपालीहरूको उद्धारबारेमा छलफल गर्नुभएको थियो । 


 

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।