• ११ मंसिर २०८१, मङ्गलबार

आठ लाख नगदसहित पाँचजना पक्राउ

blog

नगद र लागूऔषधसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय परिसरमा सार्वजनिक गरिँदै ।

अनिल पराजुली

हेटौँडा, असोज २१ गते । विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले नगद आठ लाख रुपियाँ र लागूऔषध सहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद र प्रतिबन्धित अवैध लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो । 

प्रहरीले कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटारका ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाईँलाई सार्वजनिक गरेको हो । 

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई चेक गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागूऔषध फेला पारेको थियो ।

मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । लागूऔषध र नगदसहित ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।