सिड्नी, पुस २ गते । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।
अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अकरमलाई ५९ वटा अपराधको आरोप लगाएको छ, जसमा १५ वटा हत्या र एक आतंककारी कार्य गरेको आरोप लगाइएको छ । अधिकारीका अनुसार नाभिद र उनका बुबा साजिद अकरमले आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुन्द्र तटमा भएको यहुदी उत्सवमा गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका थिए ।
मङ्गलबार कोमाबाट उठेपछि बुधबार अकरम प्रहरीको निगरनीमा अस्पतालमा उपचाररत रहेको जनाइएको छ । दोस्रो कथित बन्दुकधारी, अकरमका ५० वर्षीय बुवा साजिदको रूपमा पहिचान गरिएको छ, जसको आक्रमण स्थलमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
हत्या र आतङ्कवाद अपराधका साथै, नावीद अकरमलाई गम्भीर शारीरिक क्षति पुर्याउने उद्देश्यले बन्दुक चलाएको, सार्वजनिकरूपमा प्रतिबन्धित आतङ्कवादी प्रतीक प्रदर्शन गरेको र क्षति पुर्याउने उद्देश्यले भवनमा विस्फोटक राखेको र हत्याको ४० वटा अभियोग लगाइएको थियो । अधिकारीले आक्रमण इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको र नावीद अकरमको गाडीमा इस्लामिक स्टेटका दुई वटा झण्डा र इम्प्रोभाइज्ड विस्फोटक उपकरण फेला परेको पुष्टि गरे ।
आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आक्रमणपछि चार बालकसहित ४१ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । बुधबारसम्म, २० जना घाइते व्यक्ति सिड्नी अस्पतालमा उपचाररत रहेका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । रासस/सिन्ह्वा