• ११ मंसिर २०८१, मङ्गलबार

सासूको हत्या आरोपमा बुहारी पक्राउ

blog

सासुको हत्यामा संलग्न बुहारी बुढाथोकी । तस्बिर : नेपाल प्रहरी

प्रतीक शर्मा ‘इच्छुक’

सल्यान, असोज २१ गते । सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । सासूको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । 

असोज १८ गते बिहान आफ्नै घरभित्रै रहेको भकारीमा मृत अवस्थामा फेला परेकी सिद्धकुमाख गाउँपालिका –४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शङ्कास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरेको बताउनुभयो ।

पक्राउ परेकी शर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको छ । पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभई घाँटीमा नीलडाम देखिएको छ । 

शर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन । पक्राउ परेपछि सर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकैकारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।

उनले आफूले मारेर कसैले थाहा नपाओस् भनेर नै भकारीमा लुकाएको समेत स्वीकार गरेको प्रहरीले जनाएको छ । १५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान शव फेला परेको थियो । १५ गते नै सर्मिलाले सासूको हत्या गरेको प्रहरीले जनाएको छ ।