• १६ वैशाख २०८१, आइतबार

आर्थिक अनियमितताविरुद्ध धर्ना

blog

प्लेकार्डसहित धर्नामा अभिभावकहरु । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी

कुश्मा पर्वत, असोज २१ गते । पर्वतको कुश्मा नगरपालिकास्थित नारायण माविमा भएको आर्थिक अनियमितताको शीघ्र छानबिन होस् भनी अभिभावकले विद्यालयको गेटमा प्लेकार्डसहित धर्ना सुरु गरेका छन् ।

आइतबार बिहान गरिएको धर्ना दबाब कार्यक्रममा सहभागी अभिभावकले विद्यालयको आर्थिक अनियमितता छानबिनमा अमुक राजनीतिक पार्टीको अनुचित हस्तक्षेपका कारण ढिलाइ भएको आरोप छ । 

विद्यार्थीसँग विविध शीर्षकमा करिब २४ लाख रकम लिएर विगत २०७८ भाद्रदेखि प्राध्यापक गोविन्दप्रसाद पोख्रेलको नेतृत्वमा ल्याब सहायक तुलसीप्रसाद श्रेष्ठ, लेखा सहायक शिशिर शर्मा पौडेलले हिनामिना गरेको भनी अख्तियार अनुसन्धान कार्यालयले छानबिन गरिरहेको छ । 

नमुना माविमा पर्ने विद्यालयमा भएको आर्थिक अनियमितताका कारण शैक्षिक वातावरण समेत प्रभावित बन्न सक्ने भएपछि शीघ्र छानबिनका लागि दबाब दिनुपरेको अभिभावक योगराज गिरीको भनाइ छ ।

धर्ना दबाब कार्यक्रमका मागमा नमुना विद्यालयमा मर्यादित शैक्षिक वातावरण कायम हुनुपर्ने, व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले नेतृत्वदायी ढङ्गले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख छ । 

अभिभावक शिवप्रसाद शर्माका अनुसार विद्यालयमा भएको आर्थिक अनियमितताको छानबिनलाई टुङ्गोमा पुगाउन भनी असोज २१ देखि २५ गतेसम्म प्लेकार्डसहित धर्ना कार्यक्रम गर्ने र २५ पछि अझ वृहत् छलफलगरी रिले अनशनको कार्यक्रम सार्वजनिक गरिने छ । 

कुश्मा नगरपालिका–४ का वडा अध्यक्ष दिनेश श्रेष्ठले विद्यालयमा भएको भनिएको आर्थिक अनियमितताको छानबिनका लागि समिति बनेर काम थालिसकेपछि धर्ना दिनु आवश्यक नरहेको बताउनुभयो । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुने श्रेष्ठको दाबी छ ।