• १५ मंसिर २०८१, शनिबार

घुम्ती व्यापारीलाई अर्जुनचौपारीमा प्रतिबन्ध

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असोज २१ गते । अर्जुनचौपारी गाउँपालिकाले पालिका भित्रका गाउँदेखि बजार क्षेत्रमा घुम्ती व्यापार गर्न प्रतिबन्ध लगाएको छ । घुम्ती व्यापारका कारण अधिकांश बजार क्षेत्रका व्यवसायीहरू ठुलो मारमा परेको भन्दै गाउँपालिकाले घुम्ती व्यापार गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

पालिकाले घुम्ती व्यवसाय गर्ने व्यापारीले वडा वा पालिकाको प्रशासनबाट अनुमति लिएर मात्रै व्यवसाय गर्न अनुरोध गरेको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष् शर्माले पालिका बाहिरबाट आएर कुनै दर्ता कागतजात वा पालिकासँग अनुमति नलिई सामानहरू बिक्री वितरण गरेमा समान जफत र आवश्यक कारबाही गर्ने बताउनुभयो । 

अनुमति नलिई सामग्री बिक्रीवितरण गरेको देखेमा प्रहरी, वडा कार्यालय वा पालिकामा खबर गरी सहयोग गरिदिनसमेत अनुरोध पालिकाले गरेको छ ।

अधिकांश ग्रामीण भेगमा भारतीय मूलका व्यापारीहरूको चाडबाड नजिकिएसँगै यस्ता व्यापारीहरूको चहलपहल गाउँघरतिर निकै बढ्न थालेको हो । बजारमा भन्दा सस्तोमा पाइने भन्दै कमसल खालका सामग्री किन्दा स्थानीय नागरिक ठगिएको शर्माको भनाइ थियो । 

पालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँघरमा अनुमति नलिई सामग्री बिक्रिवितरण गर्ने यस्ता व्यापारीको बिगबिगी नै चलेको बताउँदै स्थानीय ठगिने मात्रै नभएर चोरीका घट्नाहरु हुन थालेको बताउनुभयो । 

चोरीसँगै अन्य सामाजिक आपराधिक क्रियाकलाप बढ्न सक्ने महसुस गरेर यसमा कडाइ गर्न थालेका अध्यक्ष तिवारीले बताउनुभयो । 

पालिकाले रेकर्ड राख्ने प्रक्रिया अगाडि बढाए पछि ठगिने, लुटिने र आपराधिक क्रियाकलापका घट्नामा खोज्न सजिलो हुने छ । 

पालिकामा सडक निर्माणदेखि घर निर्माणका लागि आएका मजदुरहरूको समेत रेकर्ड राख्ने तयारीमा लागेको तिवारीले बताउनुभयो । 

वार्षिक राजस्व तिर्ने व्यापारीलाई चुनौती दिएर दिन दाहाडै विनादर्ता, विना राजस्व घुम्ती व्यापार गर्नेहरूलाई करको दायरामा ल्याउन पालिकाले गरेको प्रयासको सबैले प्रशंसा गरेका छन् ।