• ४ पुस २०८२, शुक्रबार

घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस ४ गते । गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापनसम्बन्धी तालिम सुरु भएसँँगै ग्रामीण पर्यटन विकासको नयाँ ढोका खुलेको छ । 

स्थानीय स्रोत, सीप र सम्भावनलाई पर्यटनसँग जोड्दै दिगो आम्दानी सृजना गर्ने उद्देश्यका साथ सुरु गरिएको यस तालिमले अजिरकोट क्षेत्रमा पर्यटन प्रवर्धनलाई थप गति दिने अपेक्षा गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो । उहाँका अनुसार पुस १ गते देखि ५ गतेसम्म चल्ने तालिममा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी अन्तर्गतको दिगो पर्यटन परियोजना एसटिपी तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान को सहकार्यमा सञ्चालन भईरहेको तालिमले स्थानीय समुदायलाई पर्यटनमैत्री सीप व्यवहारमा दक्ष बनाउने लक्ष्य लिएको छ । 

उक्त तालिममा अतिथि सत्कारका आधारभूतदेखि व्यावसायिक सीप घरबास सञ्चालनका मापदण्ड, स्वच्छता, सेवा व्यवस्थापन, खानपानको गुणस्तर पर्यटकसँगको व्यवहार साथै लज व्यवस्थापनको व्यावहारिक पक्षहरु समेटिएका छन् । 

क्हेचो गाउँ कृषि, पशुपालन र जौबिक जीवन शैलीका साथ मनोरम प्राकृतिकको दृश्यले भरिपूर्ण गाउँ हो । परम्परागत संस्कार, स्थानीय खानपान, मौलिक संस्कृति र शान्त ग्रामिण वातावरणका कारण यहाँ ग्रामिण पर्यटनको अपार सम्भावना छ । 

तालिममा अजिरकोट गाउँपालिकाका पाँच वटै वडाबाट प्रतिनिधि सहभागी रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । तालिमपछि सहभागीहरुले आफना गाउँघरमै घरबास सञ्चालन गर्ने लज तथा साना पर्यटन व्यवसाय व्यवस्थित रुपले अघि बढाउने र पर्यटकलाई स्तरिय सेवा प्रदान गर्ने आत्मविश्वास बढेको बताएका छन् । 

अजिरकोट गाउँपालिकाले युवालाई गाउँमै रोजगारतर्फ आकर्षित गर्ने, वैदेशिक पलायन कम गर्ने र स्थानिय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरेको बताएको छ । 

पर्यटकीय गन्तव्यकाे रुपमा विकास भएको अजिकोटमा जन्मदिन मनाउन पनि गोरखा सदरमुकाम, चितन, धादिङदेखि आन्तरिक पर्यटक भच्चेक बजार आउने गरेका अजिरकोट गाउँपालिकाले जनाएको छ ।

यस तालिमले अजिरकोटलाई ग्रामीण पर्यटनको आकर्षण गन्त्बयको रुपमा चिनाउने आधार तय भएको छ । स्थानीय सहभागिता, सीप विकास र दिगो पर्यटन अवधारणको सफल कार्यान्वयनसँगै अजिरकोटमा पर्यटन विकासको नयाँ अध्याय सुरु भएको सङ्केत देखिएको छ ।