• ४ जेठ २०८१, शुक्रबार

सामूहिक पुष्प खेतीमा आकर्षण

blog

मीना कँडेल

कावासोती, असोज २१ गते । पूर्वी नवलपरासीमा सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । नगदे बालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्प खेती गर्न थालिएको छ । अहिले जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा समूह गठन गरी सामूहिक पुष्प खेती गरिँदै आएको छ । 

गैँडाकोट–२ मा दिदीबहिनी कृषक समूहले सामूहिक पुष्प खेती गरेका छन् । महिलाले २०७६ सालदेखि फूल खेती गर्दै आएको लक्ष्मी अधिकारीले बताउनुभयो। सुरुमा गैँडाकोट–२, धौलागिरि टोलमा छ कट्ठामा खेती गरिएको भए पनि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कट्ठामा सामूहिक पुष्प खेती गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चार/पाँच समूह मिलेर सामूहिक पुष्प खेतीबाट राम्रो आम्दानी भएको छ । बर्सेनि फूलको माग बढेकाले स्थानीयस्तरदेखि जिल्लाबाहिरसमेत बिक्रीवितरण गर्ने गरेका छौँ । गत वर्ष खेती गर्न डेढ लाख खर्च भएको थियो भने पाँच लाख आम्दानी भयो ।” अरू खती गर्नुभन्दा पुष्प खेती सहज भएकाले पनि यसतर्फ आकर्षण बढ्न थालेको अधिकारी बताउनुहुन्छ । 

त्यस्तै गैँडाकोट–२ का सरिता कार्की पनि सामूहिक पुष्प खेतीबाट आफूलाई राम्रो भएको बताउनुहुन्छ । दिपावलीमा मात्र नभएर पछिल्लो समय दैनिक रूपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आकर्षण बढेकाले फूलको बजार राम्रो रहेको बताउनुभयो  । यता देवचुली नगरपालिका–१२ को आर्थिक सहयोग तथा कृषि शाखाको प्राविधिक सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । वडाका दुई स्थानमा करिब १० कट्ठामा लगाइएका फूल फुल्न सुरु गरेका छन् । देवचुली १२ मा कर्मा ५५५, कर्मा १११ र कलकतिया प्रजातिका फूल लगाइएको प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले बताउनुभयो । 

कावासोती नगरपालिका–७ की मिश्रा पराजुलीले एक बिघा क्षेत्रफलमा तिहारलाई लक्षित गर्दै फार्मको १० कट्ठामा यसपालि आठ हजार बोट सयपत्री लगाउनुभएको छ । फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि पराजुलीले दुई वर्षदेखि स्थानीय बजारका मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्दै आउनुभएको छ । कृत्रिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक रूपमा पुष्प खेतीतर्फ स्थानीय लागेका छन् । जिल्लामा फूलमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र नवलपुरले पनि व्यावसायिक रूपमा गरिने पुष्प खेतीका लागि बिउ उपलब्ध गराउँदै आएको बाली संरक्षण अधिकृत मीरा चौधरीले बताउनुभयो ।