• ४ जेठ २०८१, शुक्रबार

समापन हुँदै जितिया पर्व

blog

होमराज रानाभाट 

कावासोती, असोज २१ गते । थारू जातिले मनाउने जितिया पर्व आइतबार समापन हुँदै छ । तराईमा बसोबास गर्ने थारू समुदायले मनाउने यो पर्वमा शनिबार महिलाले व्रत बसेका थिए । थारू अगुवा ओमकुमारी महत्तोले यस वर्ष पुरुषले अनन्त पर्वको व्रत बसेर मनाउन सुरु गरेको र शनिबार महिलाले व्रत बसेर विधिपूर्वक पूजा गरेर आइतबार समापन गरिने बताउनुभयो । 

थारू पुरुष र महिलाले घर घरमा नाचगान गरी जितिया पर्व मनाउन सुरु गरेका थिए । यो थारू जातिको परम्परादेखि नै चलनमा छ । नेतृ ओमकुमारी महतोले यो पर्वमा विभिन्न पोखरीमा पूजा गर्ने, आफ्नो दाजुभाइको सुख, शान्ति, श्रीमान्, सन्तानको दीर्घायु, सुख समृद्धि, मनोआकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले जितियाको व्रत लिने गरिएको बताउनुहुन्छ ।

थारू समुदायको महान् पर्वका रूपमा लिने गरिएको जितिया पर्वमा महिलाले पानी पनि नखाइकन शनिबार कठोर व्रत लिने, सन्तानको दीघार्यु, सुख शान्ति, मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइने गर्दछ । थारू महिलाले जितियामा कठोर व्रत लिई पूजा गरी तालतलैयामा पूजा अर्चना गर्ने, दिनभरि रमाइलो गर्ने गरेर यो पर्व मनाउने महतोले बताउनुभयो । 

थारू जाति प्रकृतिको पुजारीका रूपमा रहने गरेका छन् । यो पर्व एक हप्तासम्म मनाइने गरिन्छ । पहिलो दिन सात कन्याले पूजा पाठ गर्ने र १० वटा गाँठो फुकेपछि मात्र कथा सकिएपछि समापन गरिन्छ । महिलाले बिहान नदीको किनारमा गएर नुहाएर सूर्य भगवान्लाई पूजा गर्ने गर्छन् । पूर्वी नवलपरासीको नवलपुर क्षेत्रमा झन्डै ५५ हजारको सङ्ख्यामा थारू समुदायको बसोबास रहेको छ । 

जितवाहनको मूर्ति बनाएर महिलाले मध्य रातिसम्म मूर्तिमा पूजा गर्ने प्रचलन छ ।  अन्तिम दिन बिहानैदेखि तालतलैयामा नुहाएर कठोर व्रत बस्ने थारू महिलाले दिनभर नाचगान गरेर विभिन्न परिकार पाहुनालाई खुवाउने, एक ठाउँमा भेला भएर जितवाहनको पूजा गर्ने चलन रहेको छ ।