• १२ साउन २०८१, शनिबार

कृषि, पर्यटन र उद्योगबाटै नगरको समृद्धि

blog

अर्घाखाँची जिल्लाको साबिकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ र ढिकुरा गाविसलाई समेटेर भूमिकास्थान नगरपालिका बनेको हो । यो नगरपालिकाको कुल क्षेत्रफल १५९ दशमलव १३ वर्ग किलोमिटर छ । यहाँको कुल जनसङ्ख्या जम्मा ३२ हजार ६४० छ । पुरुष १३ हजार ९३५ र महिलाको सङ्ख्या १८ हजार ७०५ छ । नगरपालिकाको कार्यालय साबिकको नुवाकोट गाविसको कार्यालयमा छ । नगरपालिकामा १० वडा छन् । नगरपालिकाले शिक्षा, पर्यटन, कृषि, आर्थिक विकासका साथै सामाजिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको छ । भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापासँग गोरखापत्रका पत्रकार राधा नेपालीले गर्नुभएको कुराकानी : 

  कार्यकाल सम्हालेको अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

शिक्षाको गुणस्तर सुधारका लागि काम अघि बढाएका छौँ । भूमिकास्थान नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । १० नम्बर वडाको सिम्लेमा होमस्टे निर्माण गरिरहेका छौँ । कृषिमा आत्मनिर्भर हुन तरकारी उत्पादनलाई प्राथमिकता दिएका छौँ । प्याज प्रवर्धन कार्यक्रम अन्तर्गत ४० टन उत्पादन भयो । स्वास्थ्यतर्फ हरेक तीन महिनामा गर्भवती महिलाको भिडियो एक्सरे र निःशुल्क चेकजाँच गराइरहेका छौँ । ज्येष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराएका छौँ । १३ किलोमिटर पक्की सडक बनेको छ । १५ शय्याको अस्पताल निर्माण भएको छ । 

शिक्षाका सन्दर्भमा संस्कारसहितको शिक्षा र श्रमसहितको शिक्षा कार्यक्रमलाई तीव्रता दिएका छौँ । श्रमसहितको शिक्षा अन्तर्गत विद्यालयका क्लबमार्फत नियमित रूपमा कृषि उत्पादन भएको छ । भौतिक विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिएका छौँ । सामाजिक विभेदविरुद्ध छुवाछुत, लैङ्गिक तथा महिला हिंसाविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छौँ । गत वर्ष अभियानस्वरूप १० वटै वडामा सडक नाटक गरिएको छ ।  


 कृषि क्षेत्रको विकासमा पनि काम भइरहेको छ ?  

बढ्दो बसाइँसराइले गाउँका जग्गा बाँझो हुँदै छन् । बाँझो जग्गालाई भाडामा लिएर उत्पादन सुरु गरेका छौँ । नगरपालिकामा दुई हजार दुई सय जति सूचीकृत बेरोजगारीको सङ्ख्या छ । त्यो सङ्ख्यालाई हामीले रोजगारी दिने गरी कर्मशील जनशक्ति रोजगार, २०८० कार्यविधि पास गरेर तीन सय रोपनी जग्गा भाडामा लिएका छौँ । अहिले गहत खेती गरेका छौँ । उत्पादित गहत नगरले खरिद गरेर बजारीकरण गर्दै आएको छ । बाँझो जग्गा सबै भाडामा लिँदै छौँ । जुन जग्गामा जे उत्पादन हुन्छ, त्यही अनुसार खेती गर्छौं । कफी, टिमुर, अदुवालगायत १० वटै वडामा जडीबुटी हब सञ्चालन गर्ने र बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ । भूमिकास्थान मासुमा आत्मनिर्भर बनेको छ । खसीबोका निर्यात गर्दै आएको छौँ । यो आर्थिक वर्षबाट हामी दुधमा पनि आत्मनिर्भर बन्छौँ । त्यसका लागि गाई र भैँसीपालनमा जोड दिएका छौँ । बाँझो जग्गालाई खेतीयोग्य बनाउने र बेरोजगारलाई रोजगारी दिने काम नै हामीले प्राथमिकताका साथ अघि बढाएका छौँ । 

 पर्यटन क्षेत्रको विकास गर्ने योजना छन् ? 

धार्मिक पर्यटन प्रवर्धनका लागि पालिकाभित्र तीन स्थानमा डिपिआर बनाएका छौँ । कृषि तथा धार्मिक पर्यटन दुर्वाङ्ग, सेङ्लेङ्गमा धार्मिक, कृषि र जल पर्यटनका लागि भूतफेदी जलाशय निर्माण गर्ने काम अघि बढाएका छौँ । वडा नम्बर १ र ५ को सङ्गमस्थल भूतफेदीमा ड्याम बाँधेर जलाशय निर्माण गरेर जल पर्यटनलाई बढावा दिने काम अघि बढेको छ । जलाशयमा माछापालन पनि गरिन्छ । त्यस आसपासको जङ्गललाई सिकार आरक्षका रूपमा विकास गर्ने गरी अगाडि बढाउन खोजिरहेका छौँ । कर्मशील जनशक्ति रोजगार कार्यक्रम चलाएका छौँ । किसानले जे उत्पादन गरे पनि हामीले खरिद गरेर बजार प्रवर्धन गरिदिएका छौँ । किसान उत्साहित हुनुहुन्छ । यही वर्ष किसानका उत्पादनलाई सङ्कलन गर्न भण्डारण केन्द्र बनाउँदै छाँै । कृषि एम्बुलेन्स खरिद गर्दै छौँ । मान्छे श्रममा नजोडिएका कारणले समस्या भएको छ । श्रममा जोडिने वातावरण सिर्जना गर्दै छौँ । 


 सुशासन र पारदर्शिताका लागि प्राथमिकता निर्धारण भएको छ ?  

सङ्घ, प्रदेशका सशर्त सबै गरी हाम्रो पालिकाको बजेट ८६ करोड हो । विकास बजेट १२/१३ करोड हुन्छ । अरू तलब भत्ता, सामाजिक सुरक्षा विभिन्न शीर्षकमा छ । विकास बजेट सारै न्यून छ । पालिकाको सुशासन र पारदर्शिताको सवालमा हामी सचेत छौँ । व्यवस्थित पनि छौँ । उपभोक्ता समितिमा गएर छलफल गर्ने गरेका छौँ । तालिम पनि दिएका हुन्छौँ । योजना र बजेटका बारेमा खुलेर छलफल हुन्छ । नागरिकलाई सचेत बनाएका छौँ ।   


 अबका प्रमुख योजनाहरू के–के हुन् ? 

मुख्यतः कृषि, पर्यटन र उद्योग नै हुन् । स्थानीय तहमा घरेलु उद्योग सञ्चालन गर्ने हो । अहिले किसानका मकैका पोक्सर १२ हजार रुपियाँ क्विन्टलमा खरिद गरेर प्रत्येक वडामा १०÷१० जनाका दरले १०० जनालाई उद्यम सिप विकास तालिम दिइरहेका छौँ । उहाँहरूले उत्पादन गर्ने वस्तु हामीले खरिद गर्छौं । हामीसँग भएका ३१ वटा सामुदायिक वनको सञ्जाल बनाएका छौँ । जडीबुटी उत्पादन गरेर आम्दानी र उद्योगलाई बढावा गर्नेमा जोड दिएका छौँ । शिक्षामा संस्कारसहितको शिक्षा र श्रमसहितको शिक्षालाई विशेष जोड दिएका छौँ । हाम्रो शिक्षा संस्कारी बन्न सकेन । संस्कारसँग जोड्दै छौँ । शिक्षालाई श्रमसँग जोड्दै छौँ । बालबालिकालाई श्रमसँग जोड्यो भने उनीहरूमा श्रमको बानी पर्छ । श्रमले सामाजिक, शैक्षिक, शारीरिक विकासमा टेवा पु¥याउनुका साथै आर्थिक उन्नति हुन्छ भन्ने कुरा बालबालिकालाई सिकाउनु छ । 


 योजना र कार्यक्रममा चुनौती पनि छन् ?  

निश्चित रूपमा धेरै चुनौती छन् । मानिसको चेतनास्तर वृद्धि गर्न सहज हुँदो रहेनछ । गाउँमा जनशक्ति छैन । सबै विदेश र सहरमा छन् । आर्थिक आवश्यकता छ । नगरको आम्दानी हामीले प्रक्षेपण गरेको ५५ लाख थियो । यो आर्थिक वर्षमा जम्मा ४३ लाख सङ्कलन गर्न सकियो । त्यस कारण आर्थिक, सामाजिक, वातावरणीय पक्ष र जनशक्तिको पक्ष सबै कुरामा अहिले चुनौती छन् तर चुनौतीलाई सम्भावनाको रूपमा लिएर अगाडि बढिरहेका छौँ ।