• १४ मंसिर २०८१, शुक्रबार

बजारमा दसैँको चहलपहल, किनमेल गर्नेको भिडभाड

blog

काठमाडौँ, असोज २१ गते  ।  दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । दसैँ सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो ।   

लामो समयदेखि सुनसान अवस्थामा रहेको बजार पसलमा शुक्रबारदेखि चहलपहल बढ्न थालेको देखिन्छ । उपत्यकाको मुख्य बजार न्युरोड, असन, भोटाहिटी, विशाल बजार, सुरज आर्केट, मखनगल्लीलगायतका अन्य ठाउँमा दसैँलाई लक्षित सामान किनमेल गर्ने ग्राहकको भिडभाड सुरु भएको छ । 

दसैँलाई लक्षित गरेर लत्ताकपडालगायतका सामानमा व्यवसायीले दसैँ अफरसमेत ल्याएका छन् । पूरा सामान बिकाउनका लागि स्टक क्लियरेन्स भनेर अफरमा सामान बिक्रीमा राखेका छन् । शनिबार न्युरोडका अधिकांश सटर बन्द हुने गरेकामा यसपालि भने धेरै खुला थिए । विशेष गरी लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पलका पसलमा सामान खरिद गर्न ग्राहकको भिडभाड धेरै थियो । 

न्युरोडका कपडा व्यवसायी दिनेश गुप्ताले शुक्रबारदेखि ग्राहकको चहलपहल बढ्न थालेको जानकारी दिनुभयो । दसैँ नजिकिँदै गएकाले किनमेल गर्ने ग्राहकको सङ्ख्या बढ्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “लामो समयदेखि व्यापार राम्रो हुन सकेको थिएन, दसैँमा व्यापार बढ्छ कि भन्ने आशामा छौँ ।” 

असनका जुत्ता व्यापारी रञ्जित गुप्ताले दसैँले गर्दा ग्राहक आए पनि विगतका वर्षजत्तिको व्यापार बढ्न नसकेको बताउनुभयो । दसैँ आउन अझै एक हप्ता बाँकी रहेकाले व्यापार बढ्ने आशामा रहेको उहाँको भनाइ छ । 

पछिल्लो समय सुनचाँदीको मूल्य घटेर पनि कारोबारमा सामान्य वृद्धि भएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य दसैँ सुरु भएकाले कारोबारमा क्रमिक रूपमा सुधार हुँदै गएको जानकारी दिनुभयो । लामो समयदेखि लगातार सुनको मूल्य बढ्दै गएकामा असोज महिनायता घट्दै गएपछि व्यापारमा पनि वृद्धि हुँदै गएको उहाँको भनाइ छ । 

न्युरोडमा कपडा किन्न आएकी गोरखाकी पवित्रा भट्ट दसैँमा घरमा जाँदा नयाँ कपडा लैजानका लागि किन्न आएको बताउनुहुन्छ । 

“शनिबार बिदा भएकाले बच्चाहरूका लागि आवश्यक पर्ने कपडा किन्न आएको हो तर मूल्य बढेर छोइसक्नु छैन,” उहाँले भन्नुभयो । गत वर्षको तुलनामा अधिकांश सामानको मूल्य वृद्धि भएको उहाँको भनाइ छ ।