नारद कोहार
तौलिहवा, असोज २० गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको छ ।
कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा जिल्लाका ६ पालिकाका अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण गर्दै मन्त्री आचार्यले सो कुरा बताउनुभएको हो । मन्त्री आचार्यले तीनै तहको सरकारले अपाङ्गता भएकोलाई अपाङ्गतामैत्री नीति बनाउनुपर्ने बताउनुभयो ।
अपाङ्गताहरुको सहज पहुँचका लागि सबै सरकारी निकायमा अपाङ्गतामैत्री संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नबनाइएका ठाउँमा अपाङ्गतामैत्री संरचना बनाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री आचार्यले अपाङ्गताहरुका लागि आफुले थप सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । महिलाका लागि सुधारिएको चुल्हो, सिलाइमेशीन र स्विटर बुन्ने मेशीन समेत दिलाउने आफु प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा १ सय १६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको छ । मुख्य दाता डिजेएच तथा ईन्टरनेशनल ह्वील चियर फाउन्डेशनको सहयोगमा बाल अपाङ्गता टेवा संस्थाले वितरण गरेको छ ।
सो अवसरमा आयोजक संस्थाका संस्थापक अध्यक्ष डेन्डी शेर्पाले वडा र पालिकाहरुले अपाङ्गतामैत्री संरचना निर्माण गरी वडासम्म पहुँच बढाउनु पर्ने बताउनुभयो ।