• १३ मंसिर २०८१, बिहिबार

राष्ट्र निर्माणमा लाग्न कर्मचारीसँग आग्रह

blog

संगठनमा आपद्ध रहेर सेवानिबृत हुनुभएका कर्मचारीलाई बिदाई गर्दै एमाले केन्द्रीय सदस्य लामा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज २० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य छक्कबहादुर लामाले राष्ट्रसेवक कर्मचारीलाई आफ्नो अधिकारका लागि लड्नुका साथै राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ  ।

जिल्लामा नेपाल निजामति संगठनद्वारा दशैं–तिहारको अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रम नेता लामाले सो आग्रह गर्नुभएको हो । 

शनिबार सिमकोटस्थित रानीवनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय सदस्य लामाले कर्मचारी स्थायी सरकार भएको कारण उहाँहरुले आफ्नो अधिकार मात्र नभएर राष्ट्र निर्माणमा पनि लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कर्मचारीहरु आर्थिक अनुशासनमा रहेर काम गर्नुपर्ने बताउनुभयो । दशैं–तिहारको शुभकामना दिदै प्रजिअ पौडेलले आफ्ना कर्तब्य र दायित्वबोध कर्मचारीले गर्नुपर्ने बताउनुभयो । 

अन्य शुभकामना दिने बक्ताहरुले कर्मचारीले मुस्कानसहितको सेवा छिटो र छरितो रुपमा प्रदान गर्न आग्रह गर्नुभयो । संगठनका अध्यक्ष बर्खबहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले कावा अध्यक्ष डबल रावत, पत्रकार महासंघका अध्यक्ष राजन रावत, नेपाल निजामति कर्मचारी युनियन हुम्लाका अध्यक्ष बिशाल बोहरालगायतले शुभकामना मन्तव्य दिनुभयो । 

कार्यक्रममा सेवा निबृत कर्मचारी गोरख बिष्ट, बासु रावत, देबी ऐडी र पन्नासिंह बोहरालाई सम्मान गरिएको थियो । भर्खरै एमाले कर्णाली प्रदेशमा निर्वाचित हुनुभएका प्रदेश कमिटीका सदस्यद्वय छेपाल दोर्जे लामा र जसु परियारलाई पनि सम्मान गरिएको थियो ।