• ४ जेठ २०८१, शुक्रबार

प्रदेशसभाका विषयगत समितिले पाए सभापति

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २० गते। आम निर्वाचन भएको करिब ९ महिनापछि गण्डकी प्रदेशसभाका चार वटा विषयगत समितिले नेतृत्व पाएका छन् । नेपाली काङ्ग्रेसले दुई, नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक समितिका सभापति लिने सहमतिअनुसार शनिबार उम्मेदवारी परेको हो ।

 सभापतिमा एकल उम्मेदवारी परेसँगै निर्विरोध सभापति चयन हुने निश्चित भएको हो । अर्थ तथा विकास समिति सभापतिमा भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समिति सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । अर्याल र खड्का नेपाली काङ्ग्रेसका सांसद हुनुहुन्छ ।

लेखा समितिको सभापतिमा एमालेका सुधीरुकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित हुनुभएको हो । 

साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापति चयन बाँकी थियो । प्रदेशसभा सचिवालयको कार्यक्रम अनुसार सभापति चयनको औपचारिक घोषणा भने आइतबार हुने सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।