• २६ वैशाख २०८२, शुक्रबार

कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : नेता कोइराला

blog

फाइल तस्विर

काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखा सहिदलखन-काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले कांग्रेस एक ढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

“हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एक ढिक्का हुन जरुरी छ”, उहाँले भन्नुभयो । कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थितिअनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभयो । वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरूले सम्हाल्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कांग्रेसलाई अगाडि बढाउनका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा गोरखा क्षेत्र नं.१ का सांसद राजेन्द्र बजगाईँ, कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्वसांसद प्रकाशचन्द्र दवाडीलगायतले गोरखामा कांग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताउनुभएको थियो । रासस