• १३ मंसिर २०८१, बिहिबार

सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई कामपाको सहयोग

blog

फाइल तस्विर

काठमाडौँ, असोज २० गते । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ । 

कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा.शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पुर्‍याउने तयारी रहेको छ । उहाँले भन्नुभयो, “यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ ।” 

कामपाले विगत छ वर्षदेखि नागरिकलाई सहज रूपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातावरण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा.अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरूको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ ।”  

हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उहाँका अनुसार यसलाई रूपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो ।  

“वि.सं.२०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रूपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ”, अधिकारीले भन्नुभयो, “तिनीहरू कसरी चलेका छन् सक्रिय र नियमितरुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।” उहाँका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन । 

वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबिच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा.अधिकारीले जानकारी दिनुभयो ।

“सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्ने छन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ”, उहाँले भन्नुभयो । रासस