राजु लामिछाने
रुकुमपश्चिम, असोज २० गते । कर्णाली प्रदेशको विकास र सुशासनका लागि विगत तीन वर्षदेखि सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम’ र स्थानीय सरकारप्रति रुकुम पश्चिमका नागरिकहरूले गुनासै गुनासा गरेका छन् ।
प्रदेश सरकार समक्ष नागरिकका गुनासा राख्ने र सुनुवाइ गर्ने संयन्त्रको लागि जिल्लाको मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले कार्यक्रमबारे नै जानकारी नहुँदा प्रदेश सरकार समक्ष गुनासा राख्न नपाएको उल्लेख गरेका छन् । यसका साथै स्थानीय सरकार समक्ष गुनासो सुनुवाइ गर्ने प्रभावकारी संयन्त्र नै नभएको सर्वसाधारणहरूको गुनासो रहेको छ ।
त्रिवेणी गाउँपालिका–६ की कौशिला खड्काले जनताप्रति उत्तरदायी नभएका स्थानीय र प्रदेश सरकारका गतिविधिहरू टुलुटुल हेर्नुको विकल्प नभएको बताउनुभयो । “गुनासो कहाँ राख्ने, किन राख्ने, कसरी राख्ने हामीलाई थाह छैन,” नागरिक सुनुवाइ कार्यक्रमको प्रमुख वक्ताको रूपमा उपस्थित गाउँपालिका अध्यक्ष गणेश के.सी. समक्ष खड्काले भन्नुभयो, “गाउँपालिका अस्पतालमा सिटामोल पनि हुँदैन, आमा समूहको क्षमता विकास कसले गर्दिने ?” सोही कार्यक्रममा सहभागी युवा गोपाल ओलीले जिल्ला प्रवेशको मूल बजार झुल्नेटामा फोहोर व्यवस्थापन हुन नसकेको, सर्वसाधारणले पानीको चर्को शुल्क तिर्न बाध्य भएको लगायतका गुनासा गर्नुभयो ।
जिल्ला सदरमुकाम मुसीकोटमा आयोजित कार्यक्रममा रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले हावा लागेपछि विद्युत अवरुद्ध हुने, खलङगा बजारमा पिउने पानी शुद्ध नभएको गुनासो गर्नुभयो । सहभागीहरूले अवैध गिट्टी उत्खनन् रोक्न नसकेको, विकास निर्माणका काम गुणस्तरहिन हुने गरेका, गाउँका स्वास्थ्य संस्थाबाट औषधि पाउन छोडेको, निजी विद्यालयहरूले चर्को शुल्क लिइरहेको, सदरमुकामको मुख्य बजार क्षेत्र कुरूप बन्दै गएको, सडक र यातायात व्यवस्थापन हुन नसकेको लगायतका गुनासाहरू राख्नु भएको थियो।
स्थानीय सरकार यी तमाम् समस्याहरूप्रति उत्तरदायी हुन नसकेको सहभागीहरूको गुनासोपछि मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले गुनासोहरूको सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा विषयगत रूपमा उठेका प्रश्नहरूको जवाफ नेपाल विद्युत प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साह, मुसीकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का लगायतले दिनुभएको थियो ।
तत्काकानी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पालामा सुरु भएको ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम’ अन्तर्गतको गुनासो सुनुवाइ संयन्त्रमा सुरुका वर्ष नागरिकका गुनासाहरू कमै मात्रामा आएका थिए । युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमको जिम्मा सहकर्मी समाज नेपालले लिएपछि गुनासोको संख्यामा वृद्धि भएको सहकर्मी समाजका कार्यक्रमका संयोजक खड्गप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले प्रदेशभर हाल करिब नौ सय गुनासो संयन्त्रमा दर्ता हुन आएको बताउनुभयो । कार्यक्रममा रेग्मीले गुनासो सुनुवाइ संयन्त्रमा प्रदेश सरकारलाई कसरी गुनासो राख्ने, सम्बोधन कसले गर्छ भन्ने बारेमा जानकारी दिनुभयो ।