• ११ मंसिर २०८१, मङ्गलबार

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायत प्रस्थान

blog

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरिँदै । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, असोज २० गते । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको चार सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ ।  बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त टोलीमा प्रहरी महानिरीक्षक कुँवरका साथै प्रहरी नायब महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सम्मिलित रहनुभएको छ ।

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक बिदाइ गर्नुभयो ।

सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयकसँग सुरुवात गरिएको योजनाअन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । साथै सो अवधिमा बेलायत प्रहरी, प्रहरी इकाई आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।