• १४ मंसिर २०८१, शुक्रबार

बङ्गलादेशमा धागो निर्यातमा समस्या

blog

काठमाडौँ, असोज २० गते । बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुन सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो । 

उद्योगी व्यवसायीले भने अझै धागो निर्यात गर्न सकेका छैनन् । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । नाका खुला भएको झन्डै एक वर्ष पुुग्न लाग्दा पनि धागो निर्यात हुन सकेको छैन । नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले प्रक्रियागत झन्झटका कारण धागो निर्यात गर्न नसकिएको जानकारी दिनुभयो । निर्यातका लागि बङ्गलादेशका व्यापारीसँग छलफल भइरहेको जानकारी उहाँले दिनुभयो । 

व्यापारविज्ञ रवि सैँजूले बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि व्यवसायीले अझै निर्यात गर्न नसकेको जानकारी दिनुभयो । “तत्काल पाँच अर्ब रुपियाँको निर्यात गर्न सकिन्छ । बजार मिलाउन सके वार्षिक १५ अर्ब रुपियाँ बराबरको निर्यात गर्न सकिन्छ,” उहाँले भन्नुभभयो । धागो निर्यात गर्न गुणस्तर कायम र भुक्तानी प्रणालीमा समस्या रहेको उहाँको भनाइ छ । 

नेपालबाट बङ्गलादेशमा ठुलो परिमाणमा धागो निर्यात गर्न सकिने भए पनि प्रक्रियागत काम बाँकी रहेको भन्दै व्यवसायीले धागो निर्यात गर्न सकेका छैनन् । सङ्घका अनुसार नेपालमा वार्षिक ५० हजार टन धागो उत्पादन हुन्छ । यसमा १५ हजार टन धागो आन्तरिक खपत र बाँकी सबै निर्यात हुने गर्छ । धागोका लागि आवश्यक कच्चा पदार्थ चीन, थाइल्यान्ड, इन्डोनेसियालगायतका मुलुकबाट आयात गरी व्यवसायीले मूल्य अभिवृद्धि गरेर पुनः निर्यात गर्छन् । कच्चा पदार्थ आयात गरी ३० देखि ५० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालुएड) गरेर धागो निर्यात गर्ने गरिएको छ । 

मुलुकबाट निर्यातयोग्य वस्तुहरूमा गएको वर्ष धेरै हिस्सा धागोको रहेको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/७० मा नेपालबाट निर्यात हुने वस्तुमध्ये सबैभन्दा धेरै २९.७ प्रतिशत धागो रहेको छ । त्यसअघि पाम आयल हुने गरेकोमा गत वर्षदेखि भारतमा निर्यात कम हुुन थालेपछि यसको हिस्सा घटेर १३ प्रतिशतमा झरेको छ । धागोको कच्चा पदार्थ बाहिरी मुलुकबाट ल्याएर प्रशोधन गरेर निर्यात हुने गर्छ । धागो विशेष गरी भारत, टर्की, अमेरिकालगायतका देशमा निर्यात हुन्छ । 

गत आव २०७९/८० मा १२ अर्ब २० करोड रुपियाँ बराबरको धागो निर्यात भएको छ । आव २०७८÷७९ मा १२ अर्ब ५७ करोड २८ लाख ४२ हजार रुपियाँ बराबरको धागो निर्यात भएको थियो । आव २०७७/७८ मा आठ अर्ब ५२ करोड ९२ लाख २१ हजार रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । 

हाल टर्की, भारत, युरोपमा धागो निर्यात हुने गर्छ । युरोपबाट अन्य देशमा समेत निर्यात हुने गरेको छ । सङ्घका अनुसार हाल नेपालबाट विभिन्न देशमा वार्षिक २० देखि २५ अर्ब रुपियाँ बराबरको धागो निर्यात गर्न सकिने सम्भावना छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली धागो उच्च गुणस्तरको भएकाले माग बढ्दै गएको र माग अनुसार धागो निर्यात गर्न नसकिएको व्यवसायीको भनाइ छ । नेपालमा धागो प्रशोधन गर्ने चार वटा उद्योग सञ्चालनमा छन् । यसमा करिब १५ अर्ब रुपियाँ लगानी र १० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।