• ११ मंसिर २०८१, मङ्गलबार

पर्यटक लोभ्याउँदै फुङ्फुङगे झरना

blog

पर्यटक लोभ्याउने मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङ्फुङगे झरना । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको फुङ्फुङगे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । हरियाली वनजङ्गल र पहराको बिचबाट झर्ने फुङ्फुङगे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, यु–ट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङगे झरनासम्बन्धी तस्बिर तथा भिडियोहरु पोष्ट हुन थालेपछि पर्यटकहरु अझ आकर्षित भएका छन् ।

स्थानीय विजय साँबा लिम्बूका अनुसार अहिले दिनहुँजसो पर्यटकहरु फुङ्फुङगे झरनाको भ्रमणमा पुग्न थालेका छन् । कुनै–कुनै दिन झरनाको भ्रमणमा पुग्ने पर्यटकहरुको निकै भीड हुने गरेको लिम्बूले जानकारी दिनुभयो । फुङ्फुङगे झरनाको भ्रमण गर्नेमा अधिकांस आन्तरिक पर्यटक रहेका छन् भने कुनैबेला विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । सरकारले एकसय पर्यटकीय गन्तव्यमा सूचिकृत गरेको फुङ्फुङगे झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि निरन्तर पहल प्रयत्न पनि भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको योजना अन्तर्गत बजेटहरु खर्चिन सुरु गरेकाले पनि झरना पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । 

उहाँकाअनुसार झरनाको सौन्दर्यीकरणका रुपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ । अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङगे झरना स्थलसम्म पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिको योजना पनि बनिरहेको उहाँले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट झरनाको सौन्दर्यिकरण योजनामा एक करोड रुपियाँ बजेटसमेत विनियोजन भएको बताइएको छ । उक्त पर्यटन प्रवद्र्धनसँग सम्बन्धित बजेट तथा योजना कार्यान्वयनपछि फुङ्फुङगे झरना जिल्लाको एक मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउनुहुन्छ ।

हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहाने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छ भने क्रमशः अन्य होटलहरु पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।