• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालय शिक्षा विधेयक फिर्ता हुनुपर्छः सांसद साह

blog

आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साह ।

काठमाडौं, असोज १९ गते । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष साहले संसदमा पेस गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले त्यसलाई सरकारले फिर्ता गर्नुपर्ने बताउनुभएको हो । शुक्रबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै उहाँले विधेयकमा शिक्षा क्षेत्रलाई उत्पादनसँग जोडने, अवैधानिक रुपमा खुलेको शिक्षण संस्थाहरुलाई वैधानिक बनाउने कुनै पनि खालको सोच नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष साहले भन्नुभयो, ‘‘यो विधेयकले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्छ जस्तो मलाई लाग्दैन । अहिले पनि कैयौं बालबालिका विद्यालयभन्दा बाहिर छन । उनीहरुलाई कसरी विद्यालयमा ल्याउने भन्ने कुरा पनि विधेयकमा देखिँदैन । कयौं विद्यालयहरु, जो अवैधानिक ढङ्गले चलिराखेको छ । त्यसलाई वैधानिक बनाउने कुनै सोच पनि देखिँदैन । उत्पादनमूलक बनाउने सोच पनि देखिँदैन । विधेयकका लागि विधेयक ल्याएर कुनै काम छैन । त्यसैले यो विधेयकलाई फिर्ता गरेर नयाँ ढङ्गले ल्याउन म आग्रह गर्दछु । यदी त्यो फिर्ता गर्न सकिँदैन भनेर त्यसमा ग्रेड डिबेट चलाएर गुणात्मक बदलावका साथ अगाडि बढाउनु पर्छ ।’’

अध्यक्ष साहले सो विधेयकले विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई समेट्न नसकेको जिकिर गर्नुभयो ।