• ३ असार २०८१, सोमबार

रसुवा बन्दरगाहको निर्माण पचास प्रतिशत सम्पन्न

blog

काठमाडौँ, असोज १८ गते ।  रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । 

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ । समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको निर्माणको काम ५० प्रतिशत सकिएको जानकारी दिनुभयो । रसुवामा निर्माण हुन लागेको बन्दरगाह निर्माण सम्पन्न भएपछि आयात निर्यातलाई सहज बनाउने जानकारी दिनुभयो । “नेपाल–चीनबिचको महत्त्वपूर्ण रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,” उहाँले भन्नुभयो । रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँको भनाइ छ । अहिले बन्दरगाहभित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, बाटो निर्माण काम भइरहेको उहाँले जानकारी दिनुभयो । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । 

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् । 

रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ । 

चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । चिनियाँ पक्षले रसुवामा अनुदानमै ठुला संरचना निर्माण केन्द्रित गरेको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबीच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई बल्ल तीव्रता दिएको छ । 

सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ । उक्त बन्दरगाहमा ३५० वटा कन्टेनर अट्ने छन् । जाँचपास बिन्दु दुई वटा हुने छन् । 

साढे दुुई महिनामा १२ अर्बको सामान आयात

रसुवा भन्सार कार्यालयका अनुसार हाल दैनिक रसुवा नाकाबाट दैनिक २० देखि ३० कन्टेनर सामान आयात हुने गरेको छ । कार्यालयका प्रमुख रामप्रसाद पाठकले दसैँको सिजन भएकाले पनि सामान आउने क्रम बढ्दै गएको जानकारी दिनुभयो । हाल दसैँलाई लक्षित गरेर सामान आयात हुने गरेको उहाँको भनाइ छ । कार्यालयका अनुसार चालुु आर्थिक वर्षको असोज १६ सम्म १२ अर्ब २२ करोड तीन लाख रुपियाँको सामान आयात भएको छ । सामान आयातबाट चार अर्ब ३३ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सो अवधिमा सबैभन्दा धेरै सवारीसाधन आयात भएको छ । तीन अर्ब आठ करोड २४ लाख रुपियाँ बराबरको एक हजार ८६ वटा सवारीसाधन आयात भएको कार्यालयले जनाएको छ । गाडी आयात गरेर एक अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ । चालुु आवमा ११ अर्ब ९४ करोड रुपियाँ राजस्व सङ्कलन लक्ष्य लिएकामा असोज १६ सम्म चार अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३३ अर्ब ७१ करोड रुपियाँको सामान आयात भएको थियो । सो अवधिमा सामान आयात गरेर आठ अर्ब २४ करोड रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । आयात बढ्दै गए पनि नेपालबाट सामान निर्यात भने न्यून रहेको छ ।