• १३ मंसिर २०८१, बिहिबार

डेँगु बढेपछि सचेतना अभियान

blog

डेँगु रोग फैलिन थालेपछि गेंडाकोट नगरपालिकामा सचेतना अभियान । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट

कावासोती, असोज १७ गते । पछिल्लो एक महिनामा नवलपरासी पूर्वमा डेंगुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढन थालेपछि सचेतना अभियानमार्फत यसको रोकथाम र न्यूनीकरण अभियान सुरु गरिएको छ ।

नवलपरासीपूर्वमा अढाइ महिनाको अवधिमा चारसय ७० बढी यो रोगबाट प्रभावित भएका छन् । अहिले केही समय यता डेँगुका रोगी बढ्दै जान थालेपछि स्थानीय पालिकास्तरमा नै सचेतना अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूुर्बले जानकारी दिएको छ । 

गैंडाकोट नगरपालिका सबैभन्दा बढी डेँगु रोगबाट सङ्क्रमित हुने पालिकाका रुपमा रहेको र सो नगरपालिकाले अहिले गाउँटोलमा सचेतना कार्यक्रम मार्फत डेँगु नियन्त्रण अभियान थालेको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्र्मुख केशवप्रसाद चापागाईंले डेंगु रोग जिल्लामा साउनदेखि असोज १५ सम्म अढाई महिनामा मात्र प्रभावित हुनेको सङ्ख्या पाँचसय ७० पुगेको छ । डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या २७६ जना महिला र १९४ जना पुरुष गरेर ४७० पुगेको बताउनुुभयो ।

जिल्लामा सबैभन्दा धेरै डेंगुका बिरामी गैंडाकोट नगरपालिकामा छन् भने मध्यबिन्दु नगरपालिका दोस्रो  छ । गैंडाकोट नगरपालिकामा ८८ महिला र ८० पुरुष रहेका छन भने मध्यबिन्दुमा ७५ जना महिला र ४८ जना पुरुष गरेर १२३ जना डेंगुका बिरामी छन् । कावासोतीमा ५२ महिला र ३४ पुरुषसहित ८६ जना, देवचुलीमा ४१ महिला र ३० पुरुषसहित ६१ जना, र विनयी त्रिवेणीमा  १६ महिला र १२  पुरुष गरेर २८ जना डेंगुका बिरामी फेला परेका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा  एक सय ५९ महिला र दुुई सय १५ पुरुष गरेर कुल तीनसय ७४ जना डेंगुका बिरामी फेला परेका थिए ।

डेँगु रोगबाट अहिलेसम्म कसैको पनि ज्यान नगए पनि अहिले पनि अस्पतालमा यो रोगका बिरामीहरु दैनिक रुपमा आउने गरेको मध्यबिन्दु जिल्ला अस्पतालले जनाएको छ ।