• १३ मंसिर २०८१, बिहिबार

शिक्षकको पिटाइले विद्यार्थीको कानकाे जाली फुट्यो

blog

फाइल तस्बिर

नरेन्द्र ढकाल

गोरखा, असोज १७ गते । महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा अध्ययनरत एक शिक्षकको कुटाइबाट श्रवण क्षमता गुमेको छ । कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको हो । 

‘साथीहरुवीच झगडा भएको थियो, छुट्याउने क्रममा सरले पिटनुभयो, छल्दाछल्दै कानमा लाग्यो भन्छ बाबुले’ बालककी आमा सर्मिला परियारले भन्नुभयो, ‘बुधबार त्यस्तो घटना भएछ रातभरी कान दुख्यो भनेर सुतेन, बिहान उपचार गराउन अस्पताल लगेँ, तर उपचार भएन ।’

आँपपीपल अस्पतालले कानमा समस्या भएको र थप उपचार गर्नुपर्ने बताएपछि छोरालाई लिएर चितवन गएको सर्मिलाले बताउनुभयो । चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको चेकजाँच गरेपछि अब्जलको कानको जाली फुटेको प्रमाणित भएको उहाँको भनाइ छ । 

‘हस्पिटलमा डाक्टरले कान कति सुन्छ ? भनेर जाँच्नु भयो, उसले देब्र कान सुनेन’ उहाँले भन्नुभयो, ‘त्यसपछि हामी घर फर्कियौं, अब के गर्ने भन्ने थाहा छैन्, कान नै सुनेन भने उसको जिन्दगी नै बर्बाद हुनेभयो ।’ 

विद्यार्थीवीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ । ‘कक्षा ६ मा धुब्र सरले पढाइरहनु भएको थियो । सहायक प्रधानाध्यापक भएकाले यसो निरीक्षण गर्दै हिड्दा ६ कक्षामा दुई जना बाबुहरु झगडा गर्दै रहेछन् । एउटाको नाथ्री फुटेर रगत बगेको रहेछ’ उहाँले भन्नुभयो । 

शिक्षक पोखरेल आफूहरुले छुट्टयाउने काम मात्र गरेको दाबी गर्नुभयो । ‘म विद्यार्थीलाई नोट लेखाउँदै थिएँ, एक्कासि दुई वटा वच्चा लडे, त्यसपछि छुट्याएको मात्र हो’ उहाँले भन्नुभयो, ‘पछि राम सर आएर घाइते भएकोलाई बाहिर लिएर जानुभयो, अरु मैले केही गरेको छैन ।’

विद्यालयमा घटना भएकाले आफूहरु जवाफदेही रहनुपर्नेे प्रधानाध्यापक कृष्ण न्यौपानेले बताउनुभयो । ‘सरहरुले हामीले नियतवस पिटेको होइन, छुट्याउने बेलामा संयोगवश लागेको हो भन्नुभएको छ’ उहाँले भन्नुभयो, ‘तर बच्चाको समस्या आइसकेपछि अब जवाफदेही त हुनुपर्छ ।’