• १२ साउन २०८१, शनिबार

भूकम्प प्रभावितलाई राहत व्यवस्थापन गर्न निर्देशन

blog

प्रदेश विपद् व्यवस्थापन समितिको बैठक । तस्बिर : मुख्यमन्त्रीको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, असोज १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बझाङलगायत प्रदेशका विभिन्न जिल्लाका भूकम्प प्रभावितलाई तत्काल उचित राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

आज बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले एकद्वार प्रणालीमार्फत तत्काल उचित राहतको व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्रीले घाइतेको तदारुकताका साथ उपचार, क्षति भएको भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न, सुख्खा पहिरो गएर अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभयो ।  

उहाँले पीडितलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले घरहरू भत्किएको व्यक्तिका लागि खान, बस्नको प्रबन्ध मिलाउन र पुनर्स्थापनाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।   

उहाँले प्रदेशको हकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको व्यवस्था गर्न निर्देशन दिनुभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वद्वीप बेस्राले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् मुख्यमन्त्रीले दिएको निर्देशनअनुसार राहत सामग्री पठाउन आज साढे २ बजे प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दैछ । आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टको अध्यक्षतामा बस्ने सो बैठकले प्रदेश विपद् व्यवस्थापन समितिको निर्देशनलाई कार्यान्वयन गर्ने बेस्राले जानकारी दिनुभयो । 

प्रदेश सरकारले भूकम्प प्रभावितका लागि टेन्ट र गैरखाद्य राहत सामग्री आज पठाउने उहाँले बताउनुभयो । हिजो गएको भूकम्पबाट बझाङसहित विभिन्न जिल्लामा क्षति पुगेको छ ।