मुरारी अधिकारी
धादिङ, असोज १७ गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु भएका दुवै जना बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । मृतकको परिवारलाई क्षतिपूर्ति र चालकलाई हदैसम्मको कारबाही गर्ने आश्वासनपछि चार घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो । मृतक बालकको शव पोस्टमार्टम गर्न गजुरी पुर्याइएको छ ।