• १५ मंसिर २०८१, शनिबार

पुल भाँचिदा दर्जनौँ चौंरी घाइते

blog

ताप्लेजुङको हिमाली क्षेत्रका गोठमा रहेका चौंरी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १७ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित घुन्सा खोलको पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका छन् । चरनबाट फर्किएका चौँरी तर्ने क्रममा घुन्सा खोलाको फलामे झोलुङ्गे पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका हुन् ।

स्थानीय चौंरीपालक तेन्जिङ शेर्पाका अनुसार घुन्सा बस्तीनजिक रहेको घुन्सा खोलाको झोलुङ्गे पुल भाँचिदा चौँरीहरू खोलामा खसेर घाइते भएका हुन् । कञ्चनजङ्घा आधार शिविरअन्तर्गत खम्बाचेन, लोनाकलगायत पशु चौपाया चरन क्षेत्र (खर्क) बाट फर्किएका चौँरीहरू पुल तर्नलाई एकै पटक धेरै सङ्ख्यामा पसेका कारण फलामे झोलुङ्गे पुल भाँचिएको बताइएको छ ।  

झोलुङ्गे पुल भाँचिएर घुन्सा खोलामा खस्दा आधा दर्जनभन्दा बढी चौँरीहरू गम्भीर घाइते भएका शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार चौँरीका खुट्टा लगायतमा चोट लागेको छ । 

पुलबाट खसेर घाइते भएका चौँरीको तत्कालका लागि घरेलु उपचार गर्नुको विकल्प नरहेको भेडापालक किसान गोपाल विष्टले बताउनुभयो । यता चौंरीपालन पेसामै आत्मनिर्भर बन्दैआएका किसान भने पुलबाट खसेर चौँरी घाइते भएपछि चिन्तित बनेका छन् । 

एउटामात्र चौँरी मरेमा ७० हजार रुपियाँ घाटा हुने उनीहरूको भनाइ छ । जिल्लाको हिमाली घुन्सालगायतका क्षेत्रमा किसानले हजारौँ चौँरी पाल्दै आएको बताइएको छ ।