• १४ मंसिर २०८१, शुक्रबार

वनमा सालको लफडा

blog

नवलपरासी समाचारदाता

कावासोती, असोज १७ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित अमरज्योति सामुदायिक वन क्षेत्रभित्र सालका काठ कटान तीव्र पारिएपछि स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। 

स्थानीय भरतबहादुर कार्कीका अनुसार जिल्ला वन डिभिजनल कार्यालयको कटान आदेश, छपान आदेश कुनै पनि कार्य नगरी सामुदायिक वनका अध्यक्षको मिलेमतोमा अमरज्योति सामुदायिक वन क्षेत्रभित्र साल कटान भएको छ  जथाभाबी सालका रुख कटान हुन थालेपछि स्थानीय सामुदायिक वन उपभोक्ता सामूहिक रूपमा सामुदायिक वनका अध्यक्षलगायतलाई कारबाहीको माग गर्दै जिल्ला वन डिभिजनल कार्यालय पुगेका छन्। तथापि वन कार्यालयले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ।

देवचुली नगरपालिका–४, अमरज्योति सामुदायिक वनका उपभोक्ता चैतदेखि नै सामुदायिक वनका अध्यक्ष टेकलाल रुचालले वन कार्यालयबाट कटान आदेश नलिई जबरजस्ती सालका रुख कटान गरेको उजुरी लिएर जिल्ला वन डिभिजन कार्यालय पुगेका थिए। उपभोक्ता अर्जुन दराईले अहिलेसम्म सामुदायिक वनका अध्यक्षमाथि वन कार्यालयले कारबाही नगरेको बताउनुभयो । सो सामुदायिक वनमा एक हजार तीन सय उपभोक्ता छन्। अमरज्योति सामुदायिक वनमा अध्यक्ष रुचालले पटक पटक सालका रुख बिनाइजाजत जथाभाबी कटान गरी आफूखुसी बिक्री गर्दा पनि कारबाही हुन नसक्नु दुःखको विषय बनेको स्थानीय भीमचन्द्र गुरुङले बताउनुभयो । 

स्थानीय भरतबहादुर कार्कीले अहिले पनि अध्यक्ष रुचालले जथाभाबी रुख कटान गर्दे आएको बताउनुभयो। वन कार्यालयको समेत यसमा मिलेमतो देखिएको र पटक पटक लिखित तथा मौखिक निवेदन र उजुरी गर्न जाँदा पनि वन कार्यालयले कुनै सुनुवाइ नगरेको भीमचन्द्र गुरुङले बताउनुभयो। सामुदायिक वनका अध्यक्ष टेकलाल रचालले सामुदायिक वनको नियम र वनको कानुन अनुसार समितिले काठ कटान र छपान गरेको जिकिर गर्नुभयो। उहाँले दोष लगाउँदैमा कोही उम्कन नपाउने र राम्रो काम गरेको देखेर डाहा मात्र भएको बताउनुभयो ।