• १४ फागुन २०८०, सोमबार

वैज्ञानिकको योगदान कदर

blog

अहिले पनि कोरोना अर्थात् कोभिड–१९ भाइरसको सङ्क्रमणबाट विश्व पूर्ण मुक्त भइसकेको छैन । चीनबाट सुरु भई विश्वव्यापी भएको कोरोना सङ्क्रमणले तीव्र रूपमा मानवको ज्यान जान थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । यो महामारी सन् २०२१ को जनवरीमा उच्च बिन्दुमा पुग्यो । विश्वव्यापी रूपमा केही दिनमै लाखौँको ज्यान गयो । 

कोभिड–१९ विरुद्ध औषधी एवं खोप विकास नभएको कारण विश्वभर ‘लकडाउन’ गरी मानव आवागमन प्रतिबन्धित गर्नु परेको थियो । यस कारण जनस्वास्थ्य र विश्व अर्थतन्त्रमै ठुलो सङ्कट पैदा भयो । त्यो अवस्थामा स्रोत र जनशक्ति सम्पन्न मुलुक, वैज्ञानिकहरू कोरोनाविरुद्धको खोप विकास गर्न अनुसन्धानमा लागिपरे र बाजी मारे अमेरिकी वैज्ञानिकले । कोरोनाविरुद्धको खोप निर्माणको पथप्रदर्शन गरेका तिनै दुई वैज्ञानिक–काटालिन कारिको र ड्र वाइस्मानलाई संयुक्त रूपमा यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार विजेता घोषणा गरिएको छ । 

विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला काटालिन कारिको र ड्र वाइस्मानले एमआरएनए प्रविधिबाट कोभिड खोप निर्माणका लागि बाटो खोलिदिनुभएको थियो । प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षार्थ योगदानका निम्ति यो विश्वकै नामी एवं दामी नोबेल पुरस्कार दिइएको हो । एमआरएनए प्रविधि अपनाउँदै मोडर्ना र फाइजर बायोटेक कम्पनीले खोपको तीव्र विकास गरेका थिए । खोपका लागि आवश्यक गुणसहितको सो एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायत अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान चलिरहेको छ । 

डब्लुएचओका अनुसार अहिले पनि कोभिड सङ्क्रमणको अवस्था विश्वबाट पूर्ण रूपमा मत्थर भइसकेको छैन । कोभिड भाइरसले आफ्नो जिन (वंशाणु) मै परिवर्तन गरेर स्वरूप बदल्दै मानव स्वास्थ्यमा बारम्बार आक्रमण गरिरहेको छ । हालसम्म विश्वमा झन्डै ७८ करोड मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन्, ६९ लाख ५९ हजार ३१६ जनाले ज्यान गुमाइसकेका छन् । यो त प्रमाणिक तथ्याङ्क मात्रै हो । डब्लुएचओका महानिर्देशकले यो महामारीका कारण कम्तीमा दुई करोड मानिसको ज्यान गइसकेको अनुमान गरेका छन् । यति ठुलो मानवीय क्षति, मानव आवागमन नै रोक्नुपर्ने अवस्थाका कारण आर्थिक गतिविधि पनि सङ्कुचित हुँदा विश्वभर अर्थतन्त्र थिलथिलो भयो, जसको असर अझै छँदै छ । 

मानव समुदाय हरेक सङ्कटसँग जुध्दै जीवन सहज, सरल र सभ्य बनाउँदै अगाडि बढेको छ र अग्रगमनको बाटो देखाउने यत्नमा लागेका लाखौँ मानिसमध्ये पनि एकाध सफल हुन्छन् । हो, मानव अस्तित्व रक्षाका लागि वैज्ञानिकद्वयले विकास गरेको उपायले जीवनलाई स्वाभाविक लयमा फर्काउन थाल्यो । अहिले महामारीको अवस्था छैन । मानव जीवन र अर्थतन्त्र स्वाभाविक लयमा फर्कंदै छ । यसको श्रेय कोभिडविरुद्धको खोप विकासकर्तालाई जानु स्वाभाविक छ । ती वैज्ञानिकद्वयले आधुनिक मानव समुदायले व्यहोरेको सम्भवतः सबैभन्दा ठुलो स्वास्थ्य जोखिमको अवस्था सामना गर्न सक्षम बनाइदिए । 

डाइनामाइट अर्थात् विस्फोटक पदार्थ बारुदको आविष्कार गरेका स्विडेनका अलफ्रेड बर्नहार्ड नोबेल सन् १८९५ मा एक इच्छा पत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए । अलफ्रेड बर्नहार्ड नोबेलको निधन (सन् १८९६) भएको डिसेम्बर १० मा प्रत्येक वर्ष नोबेल पुरस्कार वितरण समारोह आयोजना हुने गरेको छ । भौतिक शास्त्र, रसायन शास्त्र, शरीर क्रिया विज्ञान (फिजियोलोजी) वा चिकित्साशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र गरी छ विधा यो पुरस्कार दिने गरिएको छ । सन् १९०१ देखि हालसम्म चिकित्साशास्त्रतर्फ ११४ पुरस्कार प्रदान गरिएको छ जसमा ३२ देखि ८७ वर्षीय आविष्कारक वा वैज्ञानिकहरूले यो पुरस्कार पाएका छन् । हालसम्म सबैभन्दा बढी नोबेल पुरस्कार पाउने देश अमेरिका छ । मानव जीवनका रक्षा र विकासका लागि ‘गेमचेन्जर’ कार्य, कृतिको क्षमता अध्ययन अनुसन्धानले नै बढाउँछ । त्यसैले नेपाल र नेपालीले पनि नोबेल पुरस्कार जस्ता विश्व प्रतिष्ठित पुरस्कार हात पार्न ‘हामी सक्छौँ’ भन्ने मनोबलसहित अध्ययन अनुसन्धानमा बढी लगानी गर्नुपर्ने छ, लगाव देखाउनुपर्ने छ । स्वदेशको आनुवंशिक स्रोत स्वामित्व जोगाउनसमेत नसक्ने विद्यमान लगानी र लगावमा अरूको प्रशंसा गर्नु र सहयोग खोज्नु नियतिकै रूपमा रहने छ ।