काठमाडौं, असोज १६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराउनुभएको छ ।
आज बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्त्वको भएको उल्लेख गर्नुभएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ”, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्नुहुँदै प्रवक्ता सापकोटाले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्त्वपूर्ण रह्यो ।”
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबिच सहकार्य तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबिच भएको सहमति दूरगामी महत्त्वका रहेको बताउनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा माओवादीले गत भदौ १६ गतेदेखि चलाएको रूपान्तरण अभियानका बारेमा पनि छलफल भएको थियो । बैठकले अभियानलाई प्रभावकारी बनाउने, चाडपर्वको समयमा पनि विविध कार्यक्रम गरी जनताको घरदैलोमा पुग्न नेता कार्यकर्तालाई दिशानिर्देश गरेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै गत भदौ ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । उहाँ न्यूयोर्कबाट सिँधै चीन भ्रमणमा निस्कनुभएको थियो । प्रधानमन्त्री चीन भ्रमण सम्पन्न गरी यही असोज १३ गते स्वदेश फर्कनुभएको थियो । रासस