• २२ मंसिर २०८१, शनिबार

जडीबुटी सङ्कलन सुरु

blog

सिमकोट गाउँपालिका–१ को लुड्फे क्षेत्रमा जडीबुटी सङ्कलन गर्दै स्थानीय । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज १६ गते । जिल्लामा आम्दानीको मुख्य स्रोतको रूपमा रहेको जडीबुटीको सङ्कलन कार्य सुरु भएको छ । सामुदायिक बनले जडीबुटी सङ्कलन कार्य फुक्का गरेसँगै स्थानीयले सङ्कलन गर्न सुरु गरेको हो ।

सिमकोट गाउँपालिका–१ को दोजाम गाउँका स्थानीय स्यामजोर लामाले यस वर्षको जडीबुटी सङ्कलन कार्य सुरु भएको बताउनुभयो । उहाँले स्थानीयका लागि आम्दानीको मुख्य स्रोतका रूपमा रहेको जडीबुटी सङ्कलन गर्ने उपयुक्त समय भएकाले यसको सङ्कलन गर्न पाँच सयभन्दा बढी स्थानीय बन गएको बताउनुभयो ।

स्थानीयले जटामासी र कुट्की जडीबुटी सङ्कलन गर्न सुरु गरेका छन् । गत वर्ष साउन अन्तिमसम्म जडीबुटी सङ्कलन गर्न सुरु गरिएको थियो । तर यस वर्ष सामुदायिक बनले सङ्कलन कार्य फुक्का समयमै नगर्दा असोजमा जडीबुटी सङ्कलन सुरु गरिएको हो ।

सिमकोट गाउँपालिका–६ की जौका भण्डारीले बनमा जडीबुटी राम्रै पाउने गरेको बताउनुभयो । उहाँले १० दिनदेखि सङ्कलन गर्दै आउनु भएको छ । उक्त वडाका अधिकांश घरधुरीबाट कम्तीमा एकदेखि तीन जनासम्म जडीबुटी सङ्कलन गर्न निस्कन्छन् ।

उहाँले आम्दानीको मुख्य स्रोत जडीबुटी सङ्कलन कार्य भएका कारण यसवर्ष तीन लाख रुपियाँ कमाई गर्ने लक्ष्य राख्नुभएको छ । सङ्कलन कार्य भएको भए पनि बिक्री भने सुरु भएको छैन । व्यापारीहरू दैनिक सङ्कलकसँग खरिदका लागि कुरा गर्न आउने थालेको भए पनि मूल्य निर्धारण गरेर बिक्री गर्ने तयारीमा सङ्कलकहरू रहेका छन् ।

जडीबुटी व्यापारी रामबहादुर भण्डारीले गतवर्ष जडीबुटी सङ्कलन कार्य कम भएका कारण जिल्लाबाट निकासी कम भएको बताउनुभयो । उहाँले यसवर्ष भने निकासी बढ्ने जानकारी दिनुभयो । जडीबुटी सङ्कलन कार्य आगामी कात्तिक महिनासम्म चुन्ने छ । किसानले जडीबुटी सङ्कलन कार्य सुरु गरेका कारण व्यापारीहरू पनि सङ्कलन पुर्जी लिन थाल्नु भएको छ ।