• २३ मंसिर २०८०, शनिबार

औद्योगीकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

blog

सप्तरी,  असोज १६ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगीकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा  सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी  आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ ।” 

समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रित गर्नुपर्छ भन्नुभयो । 

उहाँले जनतालाई गरिबीबाट मुक्त गर्न  कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्दै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पुर्‍याउनु पर्दछ । ”

अध्यक्ष नेपालले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको बताउनुभयो । पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन बताउनुभयो । उहाँले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्छ भन्नुभयो । रासस