अमरराज नहर्की
तनहुँ, असोज १६ गते । अधिकांश कपाल काट्ने व्यवसाय हजामले नै गर्ने गर्छन् तर हिजोआज पहाडी जिल्लाहरूमा स्थानीय युवाहरुनै यो व्यवसायमा तल्लीन हुन थालेका छन् । आम्दानी राम्रो हुने भएपछि युवाहरू यो व्यवसायमा लाग्न थालेका हुन् ।
तनहुँका दुई युवकले कपाल काट्ने व्यवसाय सुरु गरेका छन् । यस्तो पेसा सुरु गर्नेमा म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराँका २१ वर्षीय नवीन राना र उहाँका साथी सुप्रिम थापा हुनुहुन्छ । दुई युवकले सदरमुकाम दमौलीमा कपाल काट्ने पेसा सुरु गर्नु भएको हो ।
भारतीय नागरीले कम लगानीमै धेरै रकम कमाउने गरेको देखेर स्वदेशमै काम गर्ने सोचाई आएकोले पेसा सुरु गरेको युवाहरूको भनाई छ । रानाले भन्नुभयो–विदेशमा जानु भन्दा स्वदेशमै आफ्नै परिवारसँग रमाउँदै कपाल काट्ने पेसा गर्न ठिक ।’’ थोरै लगानीमा पेसा सञ्चालन गर्न सकिने र सोचे अनुसार आम्दानी पनि हुने भएकोले पेसा रोजेको उहाँले बताउनुभयो । विदेशमा गएर जोखिम पूर्ण र परिवारबाट टाढा रहेर काम गर्नु भन्दा स्वदेशमै केही काम गर्नु पर्छ भन्ने सोचाइले पसल सुरु गरेको उहाँको भनाई छ । रानाले व्यास नगरपालिका–३ मालपोत लाइन, दमौलीमा जिल्ला समन्वय समितिले भाडामा लगाएको सटरमा आइतबार देखि पसल सञ्चालन गर्नु भएको छ ।
कपाल काट्ने पेसा सञ्चालन गर्न पोखरामा ४५ हजार खर्च गरेर तीन तालिम लिएको र छ महिना काम गरेको अनुभव रहेको रानाले बताउनुभयो । विदेश जान लाग्ने खर्च भन्दा थोरैमा कपाल काट्ने पेसा गर्न सकिने भएकोले पेसा सञ्चालन गरेको राना बताउनुहुन्छ । घरमा कपाल काट्ने क्रममा कति राम्रो काटेका भनेर सबैले प्रशंसा गर्ने गरेकोले कपाल काट्ने पेसाले आकर्षित गरेको रानाले बताउनुभयो । घरको एक्लो छोरो भएको बाबुआमाले छोरा विदेश नगइदिए हुन्थ्यो भन्ने चाहाना पुरा गर्न कपाल काट्ने पेसा गरेको उहाँ बताउनुहुन्छ । सादा देखि आधुनिक तरिकाको काम गर्ने ज्ञान भएकोले ग्राहक बढ्ने अपेक्षा गरेको रानाले बताउनुभयो ।
सफा, राम्रो मूल्य पनि उही भएकोले विदेशीलाई पैसा दिन भन्दा स्वदेशी युवकलाई दिन उपयुक्त लागेर कपाल काटेको नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी बताउनुभयो ।
नेपाली युवकले कपाल काट्ने पेसा सुरु गरेको थाहा पाउँदा खुसी लागेको र आफू त्यही गएर कपाल काट्ने व्यास नगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष मोहनकुमारले श्रेष्ठले बताउनुभयो । निर्मल माध्यमिक विद्यालय शिक्षक लोकराज सेढाईले भारतीयहरूले नेपालमा काम गरी राम्रो रेमिटेन्स पठाइरहेको बेला नेपाली युवकले पेसा सञ्चालन गरी उदाहरणीय काम सुरु गरेको बताउनुभयो ।