• १३ असार २०८१, बिहिबार

जिपिएस प्रणालीबाट बाहिरिए एम्बुलेन्स

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज १६ गते । सरकारले एकद्वार प्रणालीबाट एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको केही वर्षमै एम्बुलेन्स डिस्प्याच सेन्टरको जिपिएस प्रणालीबाट अलग्गिएका छन् । 

दुई वर्षअघि एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालिका निर्देशिका, २०७७ जारी गरी सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एम्बुलेन्स सेवा सुरु गरिएको थियो । पछिल्लो एक वर्षदेखि धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टरमा आबद्ध भएका एम्बुलेन्स जिपिएस प्रणालीबाट बाहिरिएका हुन् । 

अस्पतालमा रहेको डिस्प्याच सेन्टरमा आबद्ध भएका काभ्रेपलाञ्चोकका २७ र सिन्धुपाल्चोकका २० गरी ४७ वटा एम्बुलेन्स जिपिएस प्रणालीमा नवीकरण नगरेपछि ती एम्बुलेन्सको पछिल्लो अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । 

धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो, “एम्बुलेन्सले जिपिएस सेवाका लागि वार्षिक गर्नुपर्ने नवीकरण कोभिडको समयमा विभिन्न संस्थाको सहयोगमा गरियो तर सहयोगी संस्थाले गर्न छोडेपछि एम्बुलेन्स सञ्चालक जिपिएस प्रणालीको नवीकरण गर्ने कुराबाट टाढा जानुभयो ।”  उहाँले एम्बुलेन्सले जिपिएस प्रणालीको नवीकरण नगर्दा कुनै घटना भएकोमा उक्त घटनास्थलको आसपासमा कुन एम्बुलेन्स रहेको छ भन्ने जानकारीसमेत नहुने अवस्था आएको बताउनुभयो । 

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक एवं काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रे जिल्लामा रहेका एम्बुलेन्सको अवस्थाबारे स्वास्थ्य कार्यालयसँग जानकारी माग गरिएको बताउनुभयो । “डिस्प्याच सेन्टरमा आबद्ध गर्न बाँकी एम्बुलेन्सलाई आबद्ध गर्ने र मापदण्ड नपुगेका एम्बुलेन्सलाई मापदण्ड पूरा गराउन सम्बन्धित व्यक्ति, संस्थाहरूसँग छलफल गरेर एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने छौँ,” प्रजिअ शर्माले भन्नुभयो । 

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. महेश्वर श्रेष्ठले प्रदेशभित्र रहेका एम्बुलेन्स डिस्प्याच सेन्टरमा आबद्ध हुन नचाहेको बताउनुभयो । उहाँले सुरुमा प्रदेश सरकारले एम्बुलेन्समा जिपिएस जडान गर्ने र अर्को वर्षदेखि एम्बुलेन्स सञ्चालकले नै नवीकरणको काम गर्ने योजना अनुरूप प्रदेश भरका एम्बुलेन्सलाई डिस्प्याच सेन्टरमा आबद्ध गरेर जिपिएस जडान गरे पनि दोस्रो वर्षदेखि एम्बुलेन्स सञ्चालकले नवीकरण नगरेको बताउनुभयो । 

“प्रदेशभरका लगभग सबै एम्बुलेन्स चालकलाई आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) तालिम प्रदान गरिएको छ, एम्बुलेन्स सञ्चालक डिस्प्याच सेन्टरमा आबद्ध हुन आउन चाहनुहुन्न, यो समस्या प्रदेशभर छ, प्रमुख जिल्ला अधिकारी र एम्बुलेन्स सञ्चालकलाई डिस्प्याच सेन्टरमार्फत एकीकृत रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याउन आग्रह गरिरहेका छौँ,” डा. श्रेष्ठले भन्नुभयो । 

उहाँले ५९६ वटा एम्बुलेन्समा प्रदेश सरकार, विभिन्न संस्थाको सहयोगमा जिपिएस जडान गरिएको र जिपिएस जडान गर्न बाँकी रहेका एम्बुलेन्समा प्रदेश सरकारले जिपिएस जडान गरिदिने भन्दै एम्बुलेन्स जिपिएस प्रणालीमा आबद्ध गर्न पहल गर्ने र नआएमा कारबाही प्रक्रीया अगाडि बढाउने बताउनुभयो ।