• ५ चैत २०८२, बिहिबार

बेला र खैराका १७० परिवारलाई लालपुर्जा वितरण

blog

सर्लाहीको ईश्वरपुरमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिँदै । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत ५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका १० बेला र खैरा गाउँका १७० परिवारलाई बुधबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्रदान गरिएको छ । 

वर्षौदेखि गाउँब्लक जग्गामा बसोवास गर्दै आइरहेका परिवारलाई नापी कार्यालय मलङ्गवाले लामो प्रयासपछि लालपुर्जा उपलब्ध गराएको हो । ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदनबहादुर विश्वकर्मा, नापी कार्यालय मलङ्गवाका प्रमुख सुमनकिशोर मिश्र र वडाध्यक्ष राशनारायण चौधरीले स्थानीयलाई बस्तीमै पुगेर लालपुर्जा हस्तान्तरण गर्नुभयो ।  

सो ठाउँमा गाउँब्लक जग्गामा बसोवास गर्ने २०० परिवार अझै लालपुर्जाविहीन रहेका छन् । अहिले छुटेका उनीहरुलाई पनि अर्को चरणमा चाँडै नै लालपुर्जा उपलब्ध गराउने योजनाका साथ प्रक्रिया अघि बढाइएको भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष विश्वकर्माले बताउनुभयो । 

वर्षौको प्रतिक्षापछि बसोवास र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा पाउँदा १७० परिवार दङ्ग परेका छन् । उनीहरुलाई अब जग्गा किनबेच गर्न र बैङ्कमा धितो राखेर ऋण लिने बाटो खुलेको छ ।

गत वर्ष ईश्वरपुर नगरपालिका वडा ११ मा पनि यसैगरी गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको थियो ।