• ३ जेठ २०८१, बिहिबार

तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धि

blog

काठमाडौँ, असोज १६ गते  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्‍याउन सुनको कोटा वृद्धि गरेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी व्यवसायीसँगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको हो । 

मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैङ्कले गत सातादेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था भएको छ । त्यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था कायम रहेको थियो । 

छलफलका क्रममा मन्त्री रिजालले सुनचाँदी व्यवसायीका लागि परेका अप्ठ्यारा समाधान गर्न र व्यवसाय सञ्चालनका लागि प्रभावकारी नीति नियम तर्जुमा गर्न सरकार तयार रहेको भन्दै व्यवसायीका तर्फबाट पनि राज्यलाई सहयोग पुग्ने कार्यहरू मात्र गर्न र आमव्यवसायीलाई यसैतर्फ प्रेरित गर्न उहाँले सुझाव दिनुभयो । 

मन्त्रालयका वाणिज्य सचिव मधुकुमार मरासिनीले सुनचाँदी व्यवसायीले स्वदेशमा नै दक्ष कालिगड उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उहाँको भनाइ छ । 

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले ‘नेपालमा सुनचाँदी व्यवसायको अवसर र चुनौती’ विषयक कार्यपत्र पस्तुत गर्दै सुनचाँदी व्यवसाय सञ्चालनका लागि प्रस्ट, प्रभावकारी र व्यवसायमैत्री ऐन बनाउन आवश्यक रहेको बताउनुभयो । सुनको प्रभावकारी आपूर्ति व्यवस्था गरिनुपर्ने, वैध तरिकाबाट आएका सुन तथा तिनका गरगहनाको कारोबारमा कुनै व्यवधान गरिन नहुने, नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधानलाई ख्याल गर्नुपर्ने, सुनचाँदीका गरगहना निर्यातका लागि विशेष व्यवस्था गरिनुपर्नेलगायत विविध पक्षका बारेमा जानकारी गराइएको थियो ।